एमाले संसदीय बोर्ड गठन, माधव समूहका सांसद अनुपस्थित

दार्चुला । नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।

नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।

गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ । ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले भने ।

माधव समूहका सांसद अनुपस्थित

उता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू अन्ततः बालुवाटार बैठकमा नजाने भएका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिँडिसकेका थिए । तर उनीहरु बीच बाटोबाटै फर्किएका छन् । ‘अनौपचारिक छलफलबाट बालुवाटार जाऔं भन्ने भयो । यसपछि हामी त हिँडिसकेका थियौं । फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, सांसद गणेश पहाडीले भने ।

उनका अनुसार स्थायी कमिटीबाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो ।

तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो । ‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद दीपकप्रकाश भट्टले भने ।

छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्षसहित बालुवाटार हिँडिसकेका सांसदहरु फर्किएका हुन् । ‘दलको नेताले बोलाएको बैठकमा जानुपर्छ, तर आज होइन भन्ने भयो’, एक सांसदले भने ।

ओलीले बोलाएको छलफलमा जाने वा नजाने भन्नेबारे छलफल गर्न विहान १० बजे छलफल राखिएको थियो । १५ मिनेट मात्रै छलफलको सूचना गरिएकाले अधिकांश सांसदहरु हेरिटेज गार्डेन पुगेकै थिएनन् ।

स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाललगायत नेताहरुसहित थोरै सांसदहरुबीच भएको छलफलपछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?