दार्चुला । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ। खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको छ ।
उहाँले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्नुभएको छ ।
पूर्व कानूनमन्त्री समेत रहनुभएका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले राजीनामा दिएकोबारे जानकारी गराइसकेको उहाँले बताउनुभयो ।
‘राजीनामा गर्दा लुसुक्क किन गर्ने ? तपाईंहरूकै अगाडि फेस टु फेस गरेर, तपाईंहरूका पनि केही कुरा छन् भने सुनौं भन्ने हिसावले पत्रकार सम्मेलन नै गरेको हुँ,’ राजीनामा दिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
उहाँले तुरून्त वकालतमा नफर्कने बताउनुभयो। क्रियाशील राजनीति गर्ने संकेत उहाँको छ।
‘म राजनीतिक जीवनमा क्रियाशील हुन्छु,’ उहाँले भन्नुभयो ।
प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री असन्तुष्ट रहेको भन्ने खबरहरू प्रकाशित भएकामा त्यसमा सत्यता नभएको बरू प्रधानमन्त्रीले आफूलाई धन्यबाद दिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया