दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा खासै प्रगति नभएको बताउनुभएको छ ।
काठमाण्डौको एक होटलमा झण्डै डेढ घण्टा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘छलफलमा मैले बोल्ने गरी खासै प्रगति भएन ।’
एमाले फुटतर्फ पुगेको अवस्थामा बुधवार पनि अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएको थियो । आज भएको छलफलले दुवै नेताहरुबीच सहमति हुने र पार्टी विभाजन टर्ने अनुमान गरिएकोमा नेता नेपालले भने छलफल उत्साहजनक नभएको बताउनुभएको छ ।
पार्टीमा समानान्तर कमिटी गठन र कारबाहीको श्रृङ्खला चलिरहेका बेला बुधबार अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेर वार्ताको प्रस्ताव गरेका थिए । नक्सालस्थित मेरियट होटलमा बुधबार दुई घण्टा वार्ता गरेका दुई नेता बिहीबार दिउँसो पनि त्यही होटलमा छलफलमा जुटेका थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेपछि बाहिरिएका नेता नेपालले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिए, ‘कुराकानीमा कुनै प्रगति छैन ।’
स्रोतका अनुसार भेटमा दुई नेताबीच सम्वाद हुनु सकारात्मक भएपनि सहमतिको कुनै संकेत देखिएको छैन । नेपाल समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपूर्व २ जेठ २०७५ मा कायम रहेको पार्टी संरचना, विधानमा फर्किनुपर्ने माग गरेको छ ।
नेपाल समूहका एक नेता भन्छन्, ‘पार्टीमा देखिएको समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव पनि आएको छैन, २८ फागुन र त्यससताका निर्णयहरुबाट पछाडि हट्न पनि तयार हुनुहुन्न ।’





प्रतिक्रिया