दार्चुला । सहरबजारदेखि गाउँघरसम्म दशैँको चहलपहल बढेको छ। रोजगारी तथा अध्ययनका लागि बाहिर गएकाहरू घर फर्किन थालेका छन्। बजारमा किनमेल र गाउँघरमा चाडपर्वको तयारी चलिरहेका बेला दार्चुलाका किसान भने खेत जोत्न र वनपाखाबाट खर काटेर थन्क्याउन व्यस्त छन्।
यस वर्षको बर्खे खेती भित्र्याइसकेपछि किसानहरू हिउँदे बाली लगाउने तयारीमा जुटेका छन्। खेतबारी जोतेर आगामी खेतीका लागि जमिन तयार पार्ने र पशुचौपायाका लागि वर्षभरि आवश्यक पर्ने घाँसको जोहो गर्न खर काट्ने कामले उनीहरूको व्यस्तता बढाएको छ।
दार्चुलाका गाउँघरमा दशैँको रमझमसँगै कृषि कार्य पनि चलिरहेको छ। विशेषगरी महिलाहरू वनपाखाबाट खर काटेर घरमा थन्क्याउने काममा व्यस्त छन्। पशुचौपायाका लागि आवश्यक घाँसको व्यवस्था गर्नुपर्ने भएकाले खर काट्ने र सुरक्षित रूपमा भण्डारण गर्ने कामलाई उनीहरूले प्राथमिकता दिएका छन्।
स्थानीयका अनुसार यस वर्ष दशैँ ढिलो परेकाले असोजको सुरुदेखि नै खर काट्न थालिएको भए पनि अहिलेसम्म सबै खर थन्क्याउन सकिएको छैन। चाडपर्व मनाउने समय भए पनि कृषि तथा पशुपालनसँग जोडिएका काम समयमै सक्नुपर्ने बाध्यता किसानलाई छ।
“दशैँको रमाइलो एक हप्तामात्र हो। काममा ध्यान नदिए वर्षभरि दुःख पाइन्छ,” स्थानीय किसानहरूको भनाइ छ।
दार्चुलाका कतिपय ठाउँमा किसानले हिउँदे बाली लगाउने तयारीसमेत सुरु गरिसकेका छन्। खेत जोत्ने, जमिन तयार पार्ने र खर काटेर थन्क्याउने काम एकै समयमा परेकाले असोज र कात्तिक किसानका लागि व्यस्त समय बन्ने गरेको छ।
दशैँका बेला नवरात्रिमा दार्चुलाका विभिन्न शक्तिपीठमा विशेष पूजाआजा हुने गर्छ। चाडपर्व मनाउन बाहिर गएका मानिस गाउँ फर्किएपछि ग्रामीण क्षेत्रमा दशैँको रौनक बढेको छ। तर, घर फर्किएका कतिपय व्यक्ति पनि परिवारसँग चाडपर्व मनाउनुका साथै खेत जोत्न र खर काट्ने काममा सघाइरहेका छन्।
यसरी दार्चुलाका किसानका लागि दशैँ चाडपर्व मनाउने अवसरसँगै आगामी खेतीको तयारी गर्ने र पशुचौपायाका लागि घाँसको जोहो गर्ने समय पनि बनेको छ।





प्रतिक्रिया