दार्चुला । दार्चुलाको प्रसिद्ध धार्मिकस्थल मालिकार्जुन धाममा लाग्ने ऐतिहासिक रात्रिकालीन जात्रालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायले तयारी तीव्र पारेका छन् । मंसिर ६ गते शिखर पूजन र ७ गते मालिकार्जुन धाममा लाग्ने जात्रालाई लक्षित गर्दै शान्ति सुरक्षा, यातायात, स्वास्थ्य सेवा तथा भक्तजनको सुविधासम्बन्धी निर्णय गरिएको छ ।
मालिकार्जुनमा बसेको जात्रा व्यवस्थापनसम्बन्धी बैठकले मंसिर ४ गतेदेखि मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ८, शैल्यशिखर नगरपालिकाका वडा नम्बर ५, ६ र ७, महाकाली नगरपालिकाको वडा नम्बर १ तथा लेकम गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा मंसिर ४ गते बिहान ६ बजेदेखि मंसिर ८ गते बिहान १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा रोक लगाइनेछ । त्यस्तै, मंसिर ४ गते दिउँसो १२ बजेदेखि मंसिर ८ गते दिउँसो १२ बजेसम्म तोकिएका क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिने जनाइएको छ ।
यातायात व्यवस्थापनका लागि मंसिर ६ गते दिउँसो ३ बजेदेखि मंसिर ८ गते बिहान ६ बजेसम्म सवारीसाधनलाई तोकिएका स्थानमा व्यवस्थापन गरिने निर्णय भएको छ । मंसिर ६ गते राति १२ बजेदेखि मंसिर ७ गते बिहान ६ बजेसम्म राजमार्गमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनबाहेक अन्य सवारीसाधनको आवागमनमा रोक लगाइनेछ । उक्त अवधिमा एम्बुलेन्स, प्रहरी, स्वास्थ्य, सरसफाइ तथा खानेपानी सेवाका अत्यावश्यक सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ ।
जात्रालाई व्यवस्थित बनाउन महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाले सुरक्षा तथा यातायात व्यवस्थापनको जिम्मेवारी लिने भएका छन् । दुवै नगरपालिकाले पर्याप्त संख्यामा स्वयंसेवक परिचालन गर्नेछन् भने मालिकार्जुन गाउँपालिकाले आवश्यकताअनुसार एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय भएको छ । जिल्ला अस्पताल दार्चुला र मालिकार्जुन गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउन हेल्थ डेस्कसमेत सञ्चालन गर्नेछन् ।
शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी व्रत राज पौडेलले जानकारी दिनुभयो । शिखर पूजनका क्रममा तोकिएको स्थानभन्दा माथि गएर फोटो तथा भिडियो खिच्नेलगायतका गतिविधिमा समेत रोक लगाइएको छ ।
मन्दिर व्यवस्थापन समितिले जात्रामा सहभागी हुने भक्तजनलाई मादक पदार्थ तथा लागूऔषध सेवन नगर्न, घरेलु हातहतियार र कानुनले निषेध गरेका सामग्री नबोक्न तथा होहल्ला र झैझगडा नगर्न आग्रह गरेको छ । धार्मिक आस्था र मन्दिरको मर्यादा कायम राख्दै जात्रामा सहभागी हुन तथा कुनै समस्या परेमा सुरक्षाकर्मीको सहयोग लिन पनि अनुरोध गरिएको छ ।
हरेक वर्ष कात्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा र चतुर्दशीका दिन मालिकार्जुन धाममा रात्रिकालीन जात्रा लाग्ने धार्मिक परम्परा छ । जात्रामा दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् । धार्मिक पूजाआजासँगै दमाहा बाजा, देउडा तथा सांस्कृतिक गतिविधिका कारण पनि यो जात्रा विशेष मानिन्छ ।
जात्रा व्यवस्थापनसम्बन्धी तयारीका लागि आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी व्रत राज पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका प्रमुख एसपी गुणराज न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय दार्चुलाका प्रमुख अनुसन्धान अधिकृत गोविन्द पाण्डे, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरव महतलगायत सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया