प्रधानमन्त्रीको भारत भ्रमणमा दार्चुलाको नेपाल–भारत जोड्ने पुल उद्घाटनको तयारी

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धार्चुला तहसिलको छारछुम जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुल नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा आगामी नोभेम्बर २३ तारिख पुलको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको अनौपचारिक जानकारी प्राप्त भएको छ ।

तर, उद्घाटन कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पुल उद्घाटन गर्ने कार्यक्रम रहेको भन्ने अनौपचारिक जानकारी आए पनि प्रशासनमा आधिकारिक पत्र वा जानकारी प्राप्त भएको छैन ।

प्रशासनले पुल सञ्चालनको लागि पहल गर्न यस अघि पनि पटक पटक माथिल्लो निकायमा लेखि पठाएको र मौखिक रुपमा अहिले पनि आवश्यक संरचना निर्माण र नियमित पुल सञ्चालनको लागि कुराकानी भईरहेको छ, निर्माण सम्पन्न मोटरेबल पुल सञ्चालनमा ल्याउन नेपालतर्फ निर्माण गर्नुपर्ने भन्सार कार्यालय, अध्यागमन कार्यालय, सुरक्षा निकायका लागि आवश्यक पुर्वाधार निर्माण लगायतका सरकारी कार्यालयहरूको व्यवस्था गर्नुपर्ने विषयमा पछिल्लो पटक पनि माथिल्लो निकायमा जानकारी गराएका छौ, पौडेलले भन्नुभयो ।

महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो दुई लेनको यो पुलले सुदूरपश्चिमका पहाडी जिल्लालाई भारतसँग सडक सञ्जालमार्फत जोड्नेछ । भारत सरकारको सहयोगमा निर्माण भएको पुलको शिलान्यास २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गर्नुभएको थियो । भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाबले निर्माण गरेको पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ ।

निर्माणको काम सम्झौताअनुसार सन् २०२३ अक्टोबरमा सम्पन्न हुनुपर्ने भए पनि थप काम गर्नुपर्ने भएपछि समय लम्बिएको थियो । पुलको निर्माण २०८१ मङ्सिर पहिलो सातासम्ममा सम्पन्न भएको थियो । पुलसँगै दुवैतर्फका मुख्य सडक जोड्ने कामसमेत पूरा भइसकेको निर्माण कम्पनीका प्रतिनिधिले बताउँदै आएका छन् ।

पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन भने नेपालतर्फ आवश्यक पूर्वाधार तयार भइसकेको छैन । भन्सार कार्यालय, अध्यागमन कार्यालय, पशु तथा वनस्पति क्वारेन्टाइन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक भवन तथा सुरक्षा जाँच चौकीलगायत संरचना निर्माण हुन बाँकी छन् । पुल सञ्चालनका लागि आवश्यक सरकारी कार्यालय र जनशक्ति व्यवस्थापनको विषय पनि टुङ्गिन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पुल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ ।

पुल सञ्चालनमा आएपछि दार्चुलासहित बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुनेछ । हाल महाकाली नदीमा झोलुङ्गे पुल र तुइनको सहायताबाट जोखिमपूर्ण रूपमा सीमापार गर्नुपर्ने बाध्यता रहेको अवस्थामा मोटरेबल पुल सञ्चालनले आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

यसबाट नेपाल र भारतबीचको व्यापारिक गतिविधि विस्तार हुनुका साथै स्थानीय कृषि उपज, जडीबुटी तथा अन्य उत्पादनको सीमापार व्यापारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, भारतको धार्चुला, पिथौरागढ, हल्द्वानी हुँदै अन्य क्षेत्रमा र नेपालतर्फ दार्चुला, बैतडी तथा सुदूरपश्चिमका धार्मिक एवं पर्यटकीय स्थलसम्म सडकमार्फत आवतजावत गर्न सकिने भएकाले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । दुई देशका सीमावर्ती समुदायबीचको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउन पनि पुल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

तर, पुल उद्घाटनको तयारीसँगै यसको नियमित सञ्चालनका लागि नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुरक्षा निकायका संरचना तथा जनशक्ति व्यवस्थापन नभएसम्म पुलबाट नियमित अन्तरदेशीय आवागमन र व्यापारिक गतिविधि सञ्चालन गर्न चुनौती रहनेछ । त्यसैले पुल उद्घाटनसँगै सञ्चालनका लागि आवश्यक संरचना निर्माण र प्रशासनिक तयारीलाई पनि तीव्रता दिनुपर्ने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?