दार्चुला । आगामी निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको प्रक्रिया अघि बढाइएको छ। जिल्लाका नौवटै स्थानीय तहका ६१ वटै वडामा रहेका मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन गर्न लागिएको हो।
जिल्लामा हाल ११२ मतदान स्थल र १४३ मतदान केन्द्र कायम छन्। पुनरावलोकन गर्नुपर्ने भए आवश्यक निर्णय गरी मङ्सिर २५ गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा सिफारिस पठाउन स्थानीय तहका मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई पत्राचार गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिनुभयो।
निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमअनुसार जिल्लामा पनि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो। पुनरावलोकनका लागि मङ्सिर ४ गतेभित्र स्थानीय तहका वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई पत्राचार गर्ने निर्णय गरिएको छ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त निर्णय र प्रमाणित अनुसूचीको विवरण एकीकृत गरी जिल्ला निर्वाचन कार्यालयले मङ्सिर २९ गते जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा पेस गर्ने निर्णयसमेत भएको निर्वाचन अधिकारी धामीले जानकारी दिनुभयो।
त्यस्तै, स्थानीय तहका सबै वडामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनका लागि आवश्यक सहयोग र समन्वय गर्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले स्थानीयस्तरमा रहेका आफ्ना प्रतिनिधिलाई जानकारी गराउने निर्णय गरिएको छ।
निर्वाचन अधिकारी धामीका अनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलित मतदाता नामावलीअनुसार दार्चुलामा ९२ हजार ९२७ मतदाता रहेका छन्। हाल मतदाता नामावली सङ्कलन, अद्यावधिक तथा शुद्धीकरणको कामसमेत भइरहेको उहाँले बताउनुभयो।




प्रतिक्रिया