प्रधानमन्त्रीको भारत भ्रमणः दिल्लीमा ३ बैठक, २ खर्ब भारु सहयोग र हवाई रुटमा सहमति तयारी

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह तीन वटा मात्रै औपचारिक बैठकमा सहभागी हुने तालिका बनेको छ ।

भारतमा कुल साढे २५ घण्टा मात्रै रहने प्रधानमन्त्री शाहले भ्रमण क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नुहुने छ। त्यस्तै उहाँले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको बैठक गर्ने तालिका रहेको छ। त्यसअतिरिक्त विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुहुने छ ।

त्यसबाहेक प्रधानमन्त्री शाहले अन्य बैठक तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने उच्च सरकारी स्रोतले जानकारी दिएको छ ।

६ मंसिर अपराह्न नयाँदिल्ली पुग्ने प्रधानमन्त्री शाह ‘ताजमहल होटल’ मा बस्नुहुने छ । त्यस दिन उहाँका कुनै पनि औपचारिक कार्यक्रम तय भएको छैन । सोही साँझ उहाँ नेपाली राजदूतावासमा जाने सम्भावना छ, तर कार्यक्रम तय भने भइनसकेको उच्च सरकारी स्रोतले बतायो ।

७ मंसिरमा प्रधानमन्त्री शाहलाई राष्ट्रपति कार्यालयमा ‘गार्ड अफ अनर’ दिइने छ । त्यससँगै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै (वान–अन–वान) वार्ता हुने छ। दुई देशबीच हुने उद्घाटन तथा सम्झौताहरू सोही बैठक क्रममा हुने जनाइएको छ ।

सोही क्रममा कुन–कुन विषयमा सम्झौता हुने भन्ने विषय अहिलेसम्म टुंगो लागिनसकेको स्रोतको भनाइ छ । भारतले नेपाललाई महेन्द्रनगरबाट आवतजावत गर्न मिल्ने गरी हवाई रुट प्रदान गर्ने सम्झौता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसका साथै दुई देशका प्रधानमन्त्रीले भारतको अयोध्यादेखि जनकपुर आउने रेलको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । साताको एक पटक यात्रा गर्ने गरी अयोध्या(जनकपुर रेल सञ्चालनका लागि भारतले अनुमति दिइसकेको छ ।

सरकारी स्रोतहरूका अनुसार प्रधानमन्त्री ६ मंसिर दिउँसो १ः२५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने र ७ मंसिर अपराह्न ४ः२० बजेको नेपाल एयरलाइन्सकै नियमित उडानबाट नेपाल फर्कने तालिका छ । यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने भन्ने चर्चा थियो । तर, उहाँको भ्रमण दुई दिनको मात्रै हुने र समयका हिसाबले २५ घण्टाको मात्रै हुने गरी तय भएको छ।

नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताउनुभएको थियो। तर, त्यो घोषणा विपरीत उहाँ गत सेप्टेम्बर तेस्रो साता संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्न अमेरिकाको न्युयोर्क जानुभएको थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा नेपाल र भारतबीच लामो समयदेखि थाती विषयहरू नै एजेन्डाका रूपमा रहने जनाइएको छ ।

२ खर्ब भारु सहयोगबारे सहमति नजिक

नेपाललाई अनुदान तथा सहुलियतपूर्ण ऋणसहित गरेर २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग दिन भारत सकारात्मक रहेको स्रोतहरूले जनाएका छन् । त्यसमध्ये १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र थप १ खर्ब भारु अनुदानको हिस्सा रहने छ ।

‘यसमा ठोस जवाफ आइसकेको छैन, तर १ खर्ब ऋण र १ खर्ब अनुदान गरी २ खर्ब भारु सहयोग दिन सम्भवतः भारत सहमत हुनेछ,’ स्रोतले भन्यो ।

१ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना नेपालको छ । त्यस्तै बुटवलपोखरा एक्सप्रेसवे बनाउन ५० अर्ब भारु प्रस्ताव नेपालले गरेको छ ।

हवाई रुट र एयरस्पेस दिन पनि भारत सहमत

नेपालले लामो समयदेखि मागिरहेको हवाई रुट र एयरस्पेस दिन पनि भारत सहमत भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हाल बाहिरबाट नेपाल प्रवेश गर्ने जहाजहरू सिमराबाट मात्रै नेपाल इन्ट्री गर्न पाउँछन् । त्यसले गर्दा भैरहवा र पोखराजस्ता अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाइ भएको भन्दै नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा तथा जनकपुरबाट जहाजहरू आवतजावत गर्न पाउने गरी अनुमति दिन भारतलाई अनुरोध गरिरहेको थियो ।

यसमध्ये सीमित ठाउँबाट हवाई रुट दिन तथा भैरहवा विमानस्थलबाट भारततर्फको क्षेत्रमा एयरस्पेस उपलब्ध गराउन भारत सकारात्मक रहेको परराष्ट्र स्रोतको भनाइ छ ।
महाकाली सन्धि भएको ३० वर्षसम्म टुंगिन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण अघि बढाउन नेपालले जोड दिइरहेको छ । तर, यसमा बृहत् राजनीतिक सहमति आवश्यक रहेको भारतको भनाइ रहेको स्रोतले बतायो । यो परियोजनाबारे ठोस उपलब्धि हुन गाह्रो रहेको स्रोतको भनाइ छ ।

माथिल्लो तामाकोशी लगायत चिनियाँ ठेकेदार संलग्न परियोजनाको विद्युत् पनि भारतले आयात गर्नुपर्ने, बंगलादेशमा थप विद्युत् निर्यात सहजीकरण गरिदिनुपर्ने, महाकाली तेस्रो सिँचाइ आयोजनामा भारतले १० क्युसेक पानी छोडिदिनुपर्ने लगायत एजेन्डा पनि नेपालले तय गरेका छ ।

महाकाली तेस्रो सिँचाइ परियोजना निर्माण सम्पन्न भएपछि भारतले टनकपुर बाँधबाट पानी नछाडिदिँदा सञ्चालनमा आउन सकेको छैन । याे परियोजनामा पानी दिन भारत सहमत भएको ऊर्जा मन्त्रालय स्रोतले बतायो । सोही कारण ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्रीको टिममा समावेश भएका छन् ।

प्रधानमन्त्री शाहसँग ऊर्जामन्त्री श्रेष्ठसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पर्यटनमन्त्री खड्कराज पौडेल लगायत पनि भारत जाँदैछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?