दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुरको महेन्द्रनगर बजार अनिश्चितकालीन रुपमा बन्द गराएको छ ।
महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालीन कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ।
हिजो शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए। त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए।
पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणका शान्तिपूर्ण कार्यक्रमको आयोजना गरेको पहिलो दिनमै राप्रपाका १८ जना नेता कार्यकर्ताहरूलाई धरपकड गरि प्रहरी हिरासतमा राख्ने गैर लोकतान्त्रिक अभ्यासप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका नेता कार्यकर्ताहरू लाई निशर्त रिहाई नहुन्जेलसम्म कञ्चनपुर पर्णरूपमा अनिश्चितकालका लागि बन्द गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताउनुभयो ।
उहाँले यसबाट यातायात र व्यापार व्यवसायमा पर्ने असुविधा प्रति दुःख व्यक्त गर्दै बन्दको कार्यक्रमलाई सहयोग गरिदिन आग्रह गरेका छ्न्। बन्दको प्रभाव आज महेन्द्रनगरबजारमा परेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया