दार्चुला । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिनुभएको छ। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले सभापति पदबाट राजीनामा दिनुभएको हो ।
यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही(४ बाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई रास्वपाका डाक्टर अमरेशकुमार सिंहले पराजित गरेका थिए ।
रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित हुनुभएको थियो। थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।




