दार्चुला । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ ।
संघीय संसद सचिवालय बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो ।
दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका बिषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।
शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई सपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिनुभयो। त्यस्तै नवनिर्वाचित सदस्यहरूको अभिमूखीकरणका लागि समेटनुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उहाँले बताउनुभयो ।
खासगरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरू आएको प्रवक्ता गिरीले उल्लेख गर्नुभयो।
त्यस्तै उहाँले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलव्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताउनुभयो ।
छलफलपछि संसद् सचिवालयले दलका प्रतिनिधिहरूलाई दलको कार्यालय समेत देखाएको थियो । प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसाबले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको छ ।




