दार्चुला । नयाँ सरकार बनेपछि अधुरो मन्त्रिपरिषद बनाएर चरण-चरणमा बिस्तार गरिरहने पुरानो परिपाटीमा भावि प्रधानमन्त्री बालेन्द्र साहले ब्रेक लगाउने भएका छन् । आफूले शपथ खाएकै दिनमै पूर्ण आकारको मन्त्रीपरिषद् गठन गर्ने उहाँको तयारी छ ।
करिब दुई तिहाइ सांसदको समर्थनसहित बलियो सरकारका प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रीपरिषद्लाई एकैपटकमा पूर्णता दिने गरी गृहकार्य गरिरहेको स्रोतले बताएको छ । आफ्नो कोर टीम र रास्वपाको उच्च नेतृत्वसँग शाहको श्रृंखलावद्ध संवाद भइरहेको छ ।
स्रोतका अनुसार हालका २२ वटा मन्त्रालयलाई १५ वटामा झार्ने योजनामा काम भइरहेको छ । बालेनले १२ वटामात्रै कायम गर्न चाहे पनि टीममा छलफलपछि १५ वटासम्म राख्नु औचित्यपूर्ण हुने निस्कर्ष निकालिएको हो । विगतमा गरिएका विभिन्न अध्ययनले पनि मन्त्रालयको संख्या घटाउनुपर्ने प्रतिवेदन दिएका छन् । त्यसमा समेत टेकेर मन्त्रालयहरु गाभ्न होमवर्क भइरहेको स्रोतले जानकारी दियो ।
मन्त्रीहरू भने १८ जना बनाउने अहिलेसम्मको तयारी छ । संविधानतः प्रधानमन्त्रीसहित २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिन्छ । तर, बालेनले सकेसम्म सानो आकारमा जोड दिइरहेका छन् । प्रधानमन्त्री कार्यालयलाई भने थप सुदृढीकरण गर्ने उहाँको सोच छ ।
अहिलेसम्म अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल करिब-करिब फाइनल भएका छन् । बाँकी मन्त्रीहरूबारे प्रारम्भिक खाका बने पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको बुझिएको छ । बालेनले मन्त्रीहरू नियुक्त गर्दा क्षमता, विज्ञता र नैतिकतालाई प्राथमिकता दिने नीति लिएका छन् ।




