दार्चुला । प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेशरुको पक्षपोषण गर्दै विकृतिहरु अन्त्यका लागि अध्यादेश जरुरी भएको बताउनुभएको छ । उहाँले अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास भएको र भविष्य बचाउने प्रयास रहेको दाबी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, ‘देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो ।’ ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्, ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो, वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको तर चाहे आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने पनि दाबी गर्नुभएको छ ।




