दार्चुला । प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिको हिजोको बैठकले १० दिनको समय राखेर उजुरी आह्वान गरेको छ । आजदेखि जेठ ४ गतेसम्म शर्माको विरुद्धमा उजुरीहरू सङ्कलन गर्ने अवधि तोकिएको हो । समितिको सचिवालयमा सिधै वा विद्युतीय माध्यमबाट समेत उजुरीहरू पठाउन सकिने समितिले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत समेत उजुरी पठाउन सकिनेछ । यस्तै नाम किटान गरेर र बेनामे उजुरी समेत पठाउन सकिनेछ । संवैधानिक परिषदको अस्ति बिहीबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
प्रधानन्यायाधीशमा नियुक्ति पहिले संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा मनोजकुमार शर्माले ६ वर्ष न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ ।




