राजेन्द्र पन्त
(जिल्ला सचिव, राष्ट्रिय स्वतन्त्र पार्टी, दार्चुला)
शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई कार्यान्वयनयोग्य, यथार्थपरक र जनमुखी बनाउन केही विषयमा गम्भीरतापूर्वक पुनर्विचार गर्नु आवश्यक देखिन्छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा करिब ५१ लाख रुपैयाँ मात्र आन्तरिक राजस्व संकलन गरेको अवस्थामा आगामी आर्थिक वर्षका लागि तीन करोड रुपैयाँभन्दा बढी आन्तरिक राजस्व उठाउने लक्ष्य निर्धारण गरेको छ। विगतको राजस्व संकलन र नगरपालिकाको वास्तविक क्षमताको तुलनामा यो लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ। त्यसैले राजस्वको लक्ष्य वास्तविक क्षमता र विगतको कार्यसम्पादनका आधारमा निर्धारण गरिए बजेटप्रति नागरिकको विश्वास बढ्नुका साथै यसको कार्यान्वयन पनि सहज हुन सक्छ।
त्यसैगरी करिब ८१ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिए पनि त्यसमा समावेश कार्यक्रमहरू हेर्दा आवश्यकताभन्दा पनि अनुमानमा आधारित र कार्यकर्तामुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको आभास हुन्छ। आवश्यकता र प्राथमिकताका आधारमा भन्दा पनि अनावश्यक शीर्षकमा खर्च हुने व्यवस्था गरिनु बजेटको कमजोर पक्ष हो। यसले नगरपालिकाले वित्तीय अनुशासन र प्रभावकारी योजना निर्माणतर्फ अपेक्षित सुधार गर्न नसकेको संकेत गर्दछ।
नगरपालिकाले आवश्यकता नभएका सेवा तथा दरबन्दी विस्तार गर्नुको सट्टा उपलब्ध स्रोत–साधनलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा अन्य आधारभूत सेवामा केन्द्रित गर्नु उपयुक्त हुनेछ। स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकलाई गुणस्तरीय आधारभूत सेवा उपलब्ध गराउनु भएकाले बजेट पनि त्यही उद्देश्यअनुसार केन्द्रित हुनुपर्छ।
सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र जनउत्तरदायित्वलाई बजेटको केन्द्रमा राख्न सके नगरपालिकाप्रति नागरिकको विश्वास थप मजबुत बन्नेछ। तर यिनै विषयमा नगरपालिका अपेक्षाअनुसार सफल हुन नसकेको यथार्थ सबैसामु स्पष्ट छ।
स्थानीय तहको आगामी निर्वाचन नजिकिँदै गरेको अवस्थामा नयाँ नेतृत्वलाई अनावश्यक आर्थिक दायित्वको भार नपर्ने गरी जिम्मेवार ढंगले बजेट व्यवस्थापन गर्नु अहिलेको नेतृत्वको दायित्व हो। दीर्घकालीन आर्थिक भार सिर्जना गर्ने तथा कार्यान्वयन गर्न कठिन हुने योजना ल्याउनु भविष्यको नेतृत्वका लागि चुनौती बन्न सक्छ।
रचनात्मक सुझावलाई आलोचनाका रूपमा नभई सुधारको अवसरका रूपमा ग्रहण गरियो भने त्यसबाट नगरपालिकाले नै सबैभन्दा बढी लाभ लिन सक्छ। अन्ततः त्यसको प्रत्यक्ष फाइदा आम नागरिकलाई पुग्नेछ। त्यसैले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अझ यथार्थपरक, कार्यान्वयनयोग्य र जनमुखी बनाउन आवश्यक पुनर्विचार गर्न शैल्यशिखर नगरपालिकासँग आग्रह गर्दछु।





प्रतिक्रिया