म जिन्दगीको मध्यबिन्दुमा आइपुगेको छु।

म उभिएको ठाउँदेखि बराबर दूरीमा छन्
मेरो जन्म र मृत्यु।
म यहाँबाट देख्दै छु
मैले बाँचेको अतीत र मैले बाँच्ने भविष्य।

स्कुलका भित्ता र, कापीको पहिलो पन्नामा
आफ्नो नाम लेखेको थिए
यहाँबाट आफ्नै निधारमा भाग्य लेख्नु छ
ताकि बाँकी यात्रा सहज भैदिए।

आजसम्म किताबको भारी बोकेको थिए
जीवन बलियो बनाउन
यहाँबाट केही भारी दाउरा बोक्नु छ
आफू जल्ने खलियो बनाउन।

आधा जिन्दगी बाँचेँ,आधा चप्पल लगाएर
बाँकी जीवन बाँच्छु,पुरै बल लगाएर।
फाटेको कुर्तालाई सिलाउँछु
बिग्रँदो जिन्दगी मिलाउँछु।
म आफैलाई यसरी सम्हाल्छु
बाँकी यात्रामा आफैलाई अङ्गाल्छु।

अस्ति सम्म जिन्दगी जबर्जस्तीमा थियो
भोलिदेखि जिन्दगी मस्तीमा हुनेछ।
हिजो सम्म जिन्दगीमा दम थिएन
आजदेखी जिन्दगीमा केही कम हुनेछैन्।

म जिन्दगीको मध्यबिन्दुमा उभिएको छु
अबको जिन्दगी,फरक स्वादको हुनेछ
अबको जिन्दगी,आजादको हुने छ।
बकवास थियो,यो बिन्दुबाट खास हुनेछ
घरभित्र थियो,यो बिन्दुबाट बतास हुनेछ।

मेटिन लागेको थियो-
यो बिन्दुबाट नमेटिने इतिहास हुनेछ
पतझर हुन लागेको थियो-
यो बिन्दुबाट जिन्दगी उल्लास हुनेछ।

म मेटाइदिन्छु,निकम्मा सम्झनाहरू
म च्यातिदिन्छु,बिर्सन नसकेका पन्नाहरू।
यो मध्यबिन्दुमा म-
मन र तनको भारी बिसाउँछु
अनि आफ्नै जीवनको सवारी गराउँछु।

यहाँ सम्म पुग्न,कति आँसु खसालेको छु
बाँकी यात्राको लागि,ओठमा हाँसो बसालेको छु
शेष जे जति छ सबै त्यागिसकेँ
अबको समय आफैलाई मागिसकेँ ।।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?