दार्चुला । दार्चुलाको लेकम गाउँपालिका जोड्ने गोकुलेश्वर–चौपाता–लाली सडक खण्ड खाल्डाखुल्डीका कारण जोखिमपूर्ण बनेको छ। सडकका विभिन्न ठाउँमा ठूला खाल्डा परेपछि यातायात सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय र सवारी चालकले चिन्ता व्यक्त गरेका छन्।
कच्ची सडक, त्यसमाथि उकालो र घुम्ती क्षेत्रमा ठूला खाल्डाखुल्डी हुँदा सवारीसाधन सञ्चालन गर्न निकै कठिन र जोखिमपूर्ण रहेको लेकम रोडमा जीप सञ्चालन गर्दै आउनु भएका जीप चालक पदम खत्रीले बताउनुभयो । लेकम गाउँपालिकाको मुख्य सडककै अवस्था दयनीय बनेपछि स्थानीयले समयमै मर्मत गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यसअघि वर्षायाममा खसेको पहिरो तथा ढुङ्गामाटो हटाउने क्रममा गाउँपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको थियो।
तर, व्यवस्थित मर्मत नगरी माथिबाट माटो थुपारेर खाल्डा पुरेको जस्तो मात्रै गरिएको भन्दै अहिले सडक झन् बिग्रिएको कार्यपालिका सदस्य चञ्चल खत्रीले बताउनुभयो। यस विषयमा आफूले गाउँपालिकामा पटक–पटक कुरा राख्दा पनि सुनुवाइ नभएको उहाँको गुनासो छ। वर्षातपछि गाउँपालिकाले आफ्नै स्काभेटर प्रयोग गरेर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको भए पनि प्रभावकारी नभएको एक जना जीप चालकले बताउनुभयो।
उहाँका अनुसार एक–दुई दिन स्काभेटर चलाएर माथिमाथि माटो थुपार्ने काम मात्रै गरिएको थियो। “एक–दुई दिन पालिकाले स्काभेटर त चलाएको थियो, माथिमाथि देखाउनलाई माटो थुपारेर झन् जोखिम बढाए। उनीहरूको बजेट पास भयो, कर्मचारीको भत्ता पाक्यो, दुःखचाहिँ नागरिक र हामी यातायात व्यवसायीले भोगिरहेका छौँ,” उहाँले गुनासो गर्नुभयो।
तिहारसँगै लेकम क्षेत्रका विभिन्न मन्दिरमा रात्रिकालीन जात्रा लाग्ने भएकाले यस समयमा सडकमा मानिस तथा सवारीसाधनको आवागमन बढ्ने गर्दछ। जयपुरलगायतका प्रसिद्ध जात्रा नजिकिँदै गर्दा सडकको अवस्था सुधार नगरे दुर्घटनाको जोखिम बढ्न सक्ने स्थानीयको चिन्ता छ।
गाउँपालिकाकै अर्को सडक ऐरिछाना–धनथला सडकको अवस्था पनि झनै नाजुक रहेको स्थानीयले बताएका छन्। दुवै सडक समयमै मर्मत गर्न उनीहरूले माग गरेका छन्।
यस विषयमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बढीमा एक हप्ताभित्रै सडक सफाइ गरिने बताउनुभयो। वर्षायामपछि केही ठाउँमा सडक सफाइको काम गरिएको जानकारी दिँदै उहाँले लेकम क्षेत्रमा लाग्ने जात्राअघि गाउँपालिकाभित्रका अधिकांश सडक मर्मत गरिने प्रतिबद्धता जनाउनुभयो।





प्रतिक्रिया