बैतडीको सुर्नया गाउँपालिकामा गत असोज २६ गतेदेखि गरिएको तालाबन्दी खुलेको छ । जनप्रतिनिधि र स्थानीय संघर्ष समितिबीच आज भएको छलफल पछि ताला खुलेको हो ।
छलफलमा जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष लीला बिष्ट, वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष धनबहादुर मडै र संघर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहार, रौलेश्वर प्रहरीचौकीका इन्चार्ज लगायतको सहभागितामा छलफल भएको थियो ।
तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका बिषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुंगो लगाउने सहमति सहित ताला खुलेको उपाध्यक्ष बिष्टले जानकारी दिनुभयो ।
सुर्नया गाउँपालिकाको केन्द्रका बिषयमा विवाद हुँदा गत असोज २८ गते झडप समेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट सहित १४ जना घाइते भएका थिए ।




