प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरुका बीचमा आरोप/प्रत्यारोप भएको छ । खासगरी पार्टीको क्रियाशिल सदस्यता वितरण , विभागहरुको गठन तथा पार्टी समायोजनका मुद्दामा नेताहरुबीच विवाद भएको हो ।
पार्टी जारी विवादको निरुपण गर्न र विगत एक महिनादेखिको नेताहरुबीचको संवादहिनता तोड्ने अपेक्षा गरिए पनि सोमबारको बैठक विनानिष्कर्श टुंगिएको छ । बैठमा सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले विवाद समाधान नगरि अघि नबढ्न र नेता कृष्णप्रसाद सिटौलाले पक्ष/विपक्ष नलिई सानो-सानो समूह बनाएर विवादको निरुपण गर्न सुझाव दिनुभएको छ ।
वरिष्ठ नेता पौडेल समूहले केन्द्रिय समितिको आगामी बैठाक अगावै सदस्यता वितरण, विभाग गठन र पार्टी समायोजनलगायतका विषयमा विधान विपरित गरिएका निर्णय सच्याउनु पर्ने अडान राख्दै आएकाले कांग्रेसमा आन्तिरिक विवाद छ । हिजोको बैठकमा पनि पौडेल पक्षिय नेताहरुले आफूहरुले राखेको १६ बुँदे ज्ञापनपत्रमाथि विस्तृतमा छलफल नभएसम्म अरु विषयमा छलफल गर्न नसकिने अडान लिएका छन ।
नेताहरुले आफ्नो धारणा राखे पनि हिजोको बैठकमा सभापति सभापति देउवाले बोल्नुभएन । आज दिउँसो १ बजे बोलाइएको बैठकमा नेताहरुका जिज्ञासाको जवाफ दिने गरी सभापतिले बोल्नुहुने बताइएको छ ।




