चीन-नेपाल सीमामा नाकाबन्दीको अवस्था

माघ २२, २०७६ काठमाडौं : नोवेल कोरोना भाइरस संक्रमण फैलन नदिन चीनले नेपालसँगका अधिकांश सीमा नाका बन्द गरिदिएको छ। चीनले नाका बन्द गरिदिएपछि उत्तरी उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ। रोजगारी र बजारका लागि चीनको स्वशासित क्षेत्र तिब्बतका सिमावर्ती बजारमै निर्भर नेपाली बस्तीमा खाद्यन्न अभावको समस्या देखिन थालेको छ। चीनले सीमा बन्द गर्नुअघि चीनतर्फ पुगेका नेपालीहरु सीमानाका बन्द भएपछि उतै थुनिएका छन्।  सिन्धुपाल्चोकको कोदारी–तातोपानी नाकाबाट माघको पहिलो सातादेखि नै आयात–निर्यात बन्द गरिएको छ। चीनियाँ स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्क राखेर सामान्य ज्वरो आएका मानिसहरुलाई समेतमा रोक लगाएका छन्। रसुवाको रसुवागढी नाका पनि कोरोनाका कारण ठप्प छ।  ताप्लेजुङको ओलाङचुङगोला नाका पनि चीनले माघ १६ गतेदेखि नै बन्द गराइसकेको छ। तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। सडक निर्माणका लागि नेपालतर्फ आएका आफ्ना नागरिकलाई फिर्ता बोलाएर चीनले नाका बन्द गरिदिएको हो।  संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका पनि १७ दिनदेखि बन्द भएको छ। चीनले किमाथांका नाका बन्द गरेपछि रोजगारीका लागि चाँगा पुगेका १४ मजदुर उतै रोकिएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताएका छन्‌। चीनसँगको नाका बन्द भएपछि खाद्यन्न अभाव हुन थालेको र हेलिकोप्टरबाट ढुवानी गर्न पहल भइरहेको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताएका छन्‌।  दार्चुलाको तिंकर, मुस्ताङको कोरोला, गोरखाको लार्केपास र हुम्लाको यारी नाकामा पनि चीनले आवतजावतमा कडाइ गरेको छ। यीमध्ये केही नाकामा भने हिमपातका कारण हिउँदयाममा बाक्लो आवतजात हुँदैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?