दार्चुला । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार नयाँदिल्लीमा भएको भेटवार्तालाई प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र नेपाल–भारतबीचका साझा चासोका विषयसँग जोडेर हेरिएको छ ।
प्रधानमन्त्री शाह आइतबारदेखि दुईदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा सोमबार नोभेम्बर २३ मा प्रधानमन्त्री मोदीसँग उहाँको द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री धामीले प्रधानमन्त्री मोदीसँग उत्तराखण्डको पूर्वाधार विकास, सडक तथा रेल सञ्जाल, पर्यटन, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रका विभिन्न परियोजनाबारे छलफल गर्नुभएको छ । उहाँले राज्यका विकास आयोजनाका लागि केन्द्र सरकारको सहयोग र स्वीकृतिसमेत माग्नुभएको छ ।
तर, मोदी–धामी भेटवार्ताको समय र प्रधानमन्त्री शाहको भारत भ्रमणमा उठ्न सक्ने विषयलाई लिएर नेपालमा चासो बढेको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण तथा दार्चुलाको असिगडास्थित नेपाल–भारत जोड्ने महाकाली नदीको मोटरेबल पुल उद्घाटनजस्ता विषय उत्तराखण्डसँगको सीमावर्ती क्षेत्र र दुई देशबीचको सहकार्यसँग सम्बन्धित छन् ।
त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवाद पनि उत्तराखण्डसँग जोडिएको संवेदनशील विषय हो । मुख्यमन्त्री धामीले यसअघि पनि सीमावर्ती क्षेत्रको भ्रमण गर्दै आउनुभएको छ ।
नेपाल–भारतबीचको सीमा विवाद लामो समयदेखि समाधान हुन सकेको छैन । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सीमा विवादले औपचारिक वार्तामा स्थान पाउँछ वा पाउँदैन भन्ने विषय पनि चासोका रूपमा रहेको छ ।




प्रतिक्रिया