तिमी देख्न सक्छौं,
म रुख जस्तै उभिएको
रुखका जरा जस्तै फिजिएको
पात जस्तै अनगिन्ती
हाँगा जस्तै फैलिएको।
यो सुनसान – सुनसान संसारमा
एक पलका लागि,
म रुख जस्तै उभिएको छु।
झ्यालबाट भित्र हेर्छु,
अँध्यारो छ
जिन्दगी पलङमा गहिरो निद्रामा छ
सोफामा मृत्यु चुरोट पिउदै कुरिरहेछ।
म बाहिर एकपलको लागि छु।
ढोका खोलेर भित्र पुग्छु,
अँध्यारो छ
जिन्दगी भित्तामा झुण्डिएको छ
मृत्यु भुइँमा बसेर हाँस्दै छ
मानौ, जिन्दगी मजाक हो।
यहाँका मान्छेहरूलाई हेर्छु,
दौडिरहेछन् मृत्यु जित्न
आयुको लेन्थ बढाउन
जस्तो कि मृत्यु सँग प्रतिस्पर्धा छ
जस्तो कि आयु रबर जस्तै तन्किन्छ।
यो संसारलाई हेर्छु,
सबैलाई हतार छ-चिहानमा पुग्नलाई
सबैलाई हतार छ-चिहानमा भेट्नलाई।
जस्तो कि बाँच्ने दिन आज सम्म मात्र हो
जस्तो कि भोलिदेखी मृत्यु आउँदैन्।
म एकपलको लागि हिमालमा छु
अनि हिउँ सँगै बिलाउन सक्छु।
म एकपलको लागि पहाडमा छु
अनि पहिरो सँगै खस्न सक्छु।
म एकपलको लागि तराईमा छु
अनि निधारको पसिना सँगै पुछिन सक्छु।
म एकपलको लागि ठेलामा छु
जुनसुकै बेला बेचिन सक्छु।
म एकपलको लागि मेलामा छु
जुनसुकै बेला हराउन सक्छु।
निधार को अक्षता जस्तै
म एकपलको लागि निधारमा छु।
खुसीमा आएको मुस्कान जस्तै
म एकपलको लागि अधरमा छु।
म एकपलको लागि हावामा छु-हावा सँगै
म एकपलको लागि पानीमा छु-पानी सँगै
म एकपलको लागि आकाशमा छु-आकाश सँगै
म एकपलको लागि समयमा छु-समय सँगै
म एकपलको लागि यो संसारमा उभिएको छु।
म एकपलको लागि यहाँ उभिएको छु
तिमी मलाई छुन सक्छौं
तिमी मलाई चुम्न सक्छौं
तिमी मलाई सधैंभरीको लागि अंगाल्न सक्छौं।
एउटा चान्स छ,
म एकपलको लागि यहाँ छु
तिमी जिन्दगीभर आफ्नो बनाउन सक्छौं।
-कम्मान रावल, शैल्यशिखर-५ दार्चुला





प्रतिक्रिया