प्रधानमन्त्री शाह र मोदीले दार्चुलाको नेपाल–भारत जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन गर्ने

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–८ असिगाडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने भएको छ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार (नोभेम्बर २३) पुलको संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतको धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाले जानकारी दिनुभयो। उहाँका अनुसार उद्घाटनको समय भने तय भइसकेको छैन।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पुल उद्घाटन गर्ने भएपछि पुल क्षेत्रमा सजावट र भर्चुअल माध्यमबाट उद्घाटन गर्न आवश्यक प्रविधिको तयारी भइरहेको उहाँले बताउनुभयो। उद्घाटनका लागि सबै तयारी पूरा गर्न भारतको केन्द्र सरकारबाट पत्राचार भएको पनि उहाँले जानकारी दिनुभयो।

भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको शिलान्यास २०७९ साल असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गर्नुभएको थियो। भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो।

पुल उद्घाटनको तयारीसँगै नेपालतर्फ पुल छेउमा सुरक्षा र भन्सार व्यवस्थापनका लागि अस्थायी संरचना निर्माण भइरहेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार प्रहरी बस्नका लागि अस्थायी संरचना तयार भइसकेको छ भने भन्सारका लागि संरचना निर्माण भइरहेको छ। प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिसहित भन्सार व्यवस्थापनको तयारी गरिएको उहाँले जानकारी दिनुभयो।

महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो दुई लेनको मोटरेबल पुलले सुदूरपश्चिमका पहाडी जिल्लालाई भारतसँग सडक सञ्जालमार्फत जोड्नेछ। पुल सञ्चालनमा आएपछि दार्चुलासहित बैतडी र बझाङलगायत जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

सीमा नदी महाकालीमा झोलुङ्गे पुल र तुइनको सहायताले जोखिमपूर्ण रूपमा सीमापार गर्नुपर्ने बाध्यता रहेका बेला मोटरेबल पुल सञ्चालनले आवागमन सहज बनाउने स्थानीयको अपेक्षा छ।

पुल सञ्चालनमा आएपछि नेपाल र भारतबीचको व्यापारिक गतिविधि विस्तार हुने यहाँका व्यापारीहरूको विश्वास छ। स्थानीय कृषिउपज, जडीबुटी तथा अन्य कृषि उत्पादनको सीमापार व्यापारमा समेत पुलले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यसैगरी, भारतबाट नेपाल आउने पर्यटकलाई सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलसम्म सडकमार्फत आवतजावत गर्न सहज हुने भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?