राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुजनको शिखर पूजन जात्रा सम्पन्न, भोलि मालिकार्जुन मन्दिरमा रात्रि जात्रा

दार्चुला । दार्चुलाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल श्री शैल्यशिखर मालिकार्जुन धाममा लागेको शिखर पूजन जात्रा सम्पन्न भएको छ। कात्तिक शुक्ल त्रयोदशीका अवसरमा आइतबार लागेको जात्रा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मालिकार्जुन विकास समितिका सचिव राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो।

जात्राका लागि बिहानै शिखर धुरातर्फ गएका भक्तजन साँझ फर्किएका छन्। बिहान ४ बजेपछि मात्रै शिखर धुरा प्रवेशको अनुमति दिइएकाले अपराह्नसम्म दर्शनार्थीको भीड लागेको सचिव धामीले बताउनुभयो। दर्शनार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मालिकार्जुन मन्दिर परिसरमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) समेत स्थापना गरिएको थियो।

शिखर पूजन जात्रा सम्पन्न भएसँगै सोमबार मालिकार्जुन मन्दिर मडमा लाग्ने रात्रिकालीन जात्राको तयारी तीव्र पारिएको मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताउनुभयो।

रात्रि जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ। जात्रा लक्षित गर्दै प्रभावित क्षेत्रका मदिरा पसलसमेत सिल गरिएको प्रहरीले जनाएको छ।

जिल्ला सुरक्षा समितिले यसअघि नै विशेष सुरक्षा योजनासहित विभिन्न निर्णय गरेको थियो। जात्राका दिन आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने, मदिरा तथा जुवातासजस्ता असामाजिक गतिविधि नियन्त्रण गर्ने र मङ्सिर ७ गते राति १२ बजेदेखि ८ गते बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो।

मालिकार्जुन धाममा हरेक वर्ष दुई पटक शिखर पूजन जात्रा लाग्ने गर्दछ। हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवक कम्तीमा १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन रहेको छ।

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन्।

शिखर पूजन जात्रा सम्पन्न भएसँगै अब सोमबार मालिकार्जुन मन्दिर मडमा लाग्ने प्रसिद्ध रात्रिकालीन जात्राको प्रतीक्षा गरिएको छ। जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय तथा सरोकारवाला पक्षले आवश्यक तयारी अघि बढाएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?