राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनमा आज यस क्षेत्रकै प्रसिद्ध र ठूलो रात्रि जात्रा, सुरक्षा व्यवस्था कडा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडस्थित राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनमा आज यस क्षेत्रकै प्रसिद्ध तथा ठूलो धार्मिक जात्रा लाग्दैछ। कात्तिक शुक्ल चतुर्दशीका अवसरमा लाग्ने रात्रिकालीन जात्राका लागि मन्दिरमा भक्तजन तथा दर्शनार्थीको चहलपहल बढेको छ।

जात्रामा दार्चुला, बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी भारतको उत्तराखण्डबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गर्दछन्। हजारौँ भक्तजनको सहभागिता रहने जात्राका लागि मन्दिर व्यवस्थापन समितिले एक साताअघिदेखि नै तयारी गरिरहेको जनाएको छ। शनिबारदेखि नै मन्दिरमा भक्तजनको भीड लाग्न थालेको छ भने आज बिहानैदेखि दर्शनार्थी आउने क्रम जारी छ।

कात्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखर धाममा शिखर पूजन जात्रा सम्पन्न भएपछि प्रत्येक वर्ष चतुर्दशीका दिन मालिकार्जुन मन्दिर मडमा रात्रिकालीन जात्रा लाग्ने परम्परा छ। यस क्षेत्रकै ठूलो धार्मिक जात्राका रूपमा परिचित मालिकार्जुन जात्रामा दमाहा बाजासहित भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

जात्रालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति, मन्दिर व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायले आवश्यक तयारी गरेका छन्। जात्रालाई लक्षित गर्दै मदिराको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गरिएको छ। मदिरा तथा अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले एक साताअघिदेखि नै चेकजाँच र निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जात्रा क्षेत्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार जात्राका दिन आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने, मदिरा तथा जुवातासजस्ता असामाजिक गतिविधि नियन्त्रण गर्ने र आज राति १२ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।

मालिकार्जुन मन्दिरमा पवित्र मनले दर्शन तथा पूजाआजा गरे पुण्य प्राप्त हुने, मनोकामना पूरा हुने र विशेषगरी निःसन्तान दम्पतीलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहिआएको छ। यही धार्मिक आस्थाका कारण दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजन मालिकार्जुन धाम पुग्ने गर्दछन्।

मालिकार्जुन जात्रासँगै लेकम क्षेत्रका विभिन्न शक्तिपीठहरूमा पनि आज रातभर जात्रा लाग्ने गर्दछ। लेकम गाउँपालिका–५ मैखोली, वडा नम्बर ६ उचाकोट, वडा नम्बर २ गराडीलगायत स्थानमा रहेका देवीदेवताका मन्दिरमा रात्रिकालीन जात्रा लाग्ने परम्परा छ।

दार्चुलाको लेकम क्षेत्रमा द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमासम्म सञ्चालन हुने गर्दछन्। लेकम गाउँपालिकाको पाती, कुणी लगायतका स्थानमा पूर्णिमाका दिन अन्तिम जात्रा लाग्ने गर्दछ। यस क्षेत्रमा दसैँ–तिहारभन्दा पनि जात्रालाई विशेष महत्त्वका साथ मनाउने परम्परा रहेको छ।

धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएको मालिकार्जुन रात्रि जात्रामा सहभागी हुन टाढाटाढाबाट भक्तजन आउने भएकाले मन्दिर तथा आसपासका क्षेत्रमा चहलपहल बढेको छ। जात्रालाई मर्यादित र व्यवस्थित बनाउन प्रशासनले जारी गरेका सुरक्षा तथा व्यवस्थापनसम्बन्धी निर्णय पालना गर्नसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?