वन क्षेत्र अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन डिभिजन वन कार्यालय दार्चुलाको निर्देशन

दार्चुला । दार्चुलामा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउन डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले (मंसिर १० गते)विहिबार सार्वजनिक सूचना जारी गर्दै वन क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाई अतिक्रमित क्षेत्र खाली गर्न सम्बन्धित सबैमा आग्रह गरेको हो ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतीबाली लगाउने तथा वन क्षेत्रमै बसोबास गर्ने गतिविधि भइरहेको पाइएको छ । यस्ता गतिविधिले वन, वातावरण, जैविक विविधता तथा पारिस्थितिकीय सेवामा प्रतिकूल प्रभाव पार्ने कार्यालयले जनाएको छ ।

वन क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्न तथा विकास निर्माणका कार्य सञ्चालन गर्न वन ऐन, २०७६ को दफा ४२ र वन नियमावली, २०७९ को नियम ८ बमोजिम जग्गाको भोगाधिकार प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ । कानुनी प्रक्रिया पूरा नगरी वन क्षेत्र अतिक्रमण गर्ने कार्य तत्काल रोक्न पनि कार्यालयले आग्रह गरेको छ ।

यसअघि डिभिजन वन कार्यालयले गरेको तथ्याङ्क सङ्कलनअनुसार जिल्लामा १ दशमलव ८५ हेक्टर वन क्षेत्र अतिक्रमण गरी १२ वटा निजी तथा सरकारी संरचना निर्माण गरिएको पाइएको थियो । कार्यालयका अनुसार मालिकार्जुन गाउँपालिकाका सलानीधार, शिसली, बसेडी र हुनशिखरलगायत सामुदायिक वन क्षेत्रमा अतिक्रमण भएको पाइएको थियो ।

त्यस्तै, गत वैशाखमा महाकाली सबडिभिजन वन कार्यालय जोलजीवीले मालिकार्जुन गाउँपालिकाका धामीदेउ, धौखानी, तितेखोली, हुनशिखर, बालिचन तथा लेकम गाउँपालिकाको ठूलाढोल सामुदायिक वनलगायत क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा, पसल तथा अन्य संरचना हटाउन सात दिनको समय दिएको थियो ।

डिभिजन वन कार्यालयले वन अतिक्रमण नियन्त्रण, जैविक विविधता संरक्षण तथा अतिक्रमित वन क्षेत्र पुनःस्थापनाका लागि अहिले पुनः सार्वजनिक सूचना जारी गरेको जनाएको छ । सूचनाको अवज्ञा गरी वन क्षेत्रभित्र निर्माण गरिएका संरचना नहटाए र अतिक्रमित क्षेत्र खाली नगरे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

नेपाल–भारत सहमति कार्यान्वयन गर्न उच्चस्तरीय अनुगमन समूह पुनः सक्रिय पारिने

२०८३ मंसिर ७, सोमबार १८:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?