सुकुम्बासीको पीडा : होल्डिङ सेन्टरमा खाना बन्द, बालबालिका विद्यालय जानबाट वञ्चित

दार्चुला । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारको अवस्था थप कष्टकर बनेको छ । सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएसँगै शुक्रबारदेखि उनीहरूलाई उपलब्ध हुँदै आएको खाना पनि बन्द गरिएको छ । खानाको व्यवस्था नहुँदा केही परिवार भोकै बस्न बाध्य भएका छन् भने बालबालिकासमेत विद्यालय जानबाट वञ्चित भएका छन् ।

यसअघि शान्ति सेवा गृहले उपलब्ध गराउँदै आएको खाना शुक्रबारदेखि रोकिएको हो । सरकारले शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेपछि त्यहाँ रहेका परिवार थप समस्यामा परेका हुन् । केही परिवारले आफैँ खानाको व्यवस्था गरे पनि केही भोकै बसेको होल्डिङ सेन्टरमा रहनुभएका सुमन चौधरीले बताउनुभयो ।

खानाको अभाव र ठाउँबाट निकालिनुपर्ने त्रासले बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । होल्डिङ सेन्टरमा विद्यालय जाने उमेरका ११ जना बालबालिका रहेकामा शुक्रबार तीन जना मात्रै विद्यालय गएको कृष्णमाया राइगाइले बताउनुभयो । बाँकी आठ जना खानाको व्यवस्था नहुँदा विद्यालय जान सकेनन् ।

‘निकाल्ने भन्ने त्रासले नातानातिनीलाई स्कुल पठाउन पाइएन । यहाँ ११ जना स्कुल जाने बालबालिका छन् । तीन जना गएका छन्, आठ जना जानै पाएनन् । भोकै पठाउन पनि सकिएन,’ उहाँले भन्नुभयो ।

काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका परिवारलाई बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको थियो । तर, त्यहाँबाट पनि हट्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ११ गते दिउँसो २ बजेसम्मको समयसीमा दिएको थियो । प्रशासनले बुधबार लिखित सूचना टाँस गरी उक्त समयभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो । यसअघि मंसिर २ गते एक साताभित्र ठाउँ छाड्न मौखिक निर्देशन दिइएको थियो ।

केही परिवारले ठाउँ छाडिसके पनि बोडेमा अझै १९ परिवारका ५९ जना बसिरहेका छन् । प्रशासनले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ क र ५२ ख अनुसार गरिएको छानबिनमा सात परिवार भूमिहीन नभएको जनाएको छ । तीन पुस्ताभित्र जग्गाजमिन देखिएको वा २०६६ माघ २८ गतेपछि जग्गा कारोबार गरेको पाइएमा भूमिहीन नमानिने प्रशासनको भनाइ छ ।

बाँकी १२ परिवारको हकमा भने जग्गाजमिन नदेखिएकाले भूमिहीनको निस्सा दिने र स्थायी ठेगाना भएका जिल्लाको भूमि समस्या समाधान समितिमार्फत जग्गा यकिन गर्ने प्रक्रिया अघि बढाउने प्रशासनले जनाएको छ ।

भूमिहीन देखिएका परिवारलाई होल्डिङ सेन्टर छाडेर स्थायी ठेगाना भएको जिल्लामा जान प्रशासनले आग्रह गरेको छ । त्यसका लागि एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ र यसअघि व्यवस्थापनका लागि तोकिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो ।

तर, होल्डिङ सेन्टरमा रहेका परिवारले भने लालपुर्जा वा स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राख्दै आएका छन् । प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा उनीहरू कहाँ जाने र कसरी गुजारा चलाउने भन्ने अन्योलमा छन् । बसोबासको टुङ्गो नलाग्दै खानासमेत बन्द भएपछि सुकुम्बासी परिवारको दैनिकी झनै कठिन बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

नेपाल–भारत सहमति कार्यान्वयन गर्न उच्चस्तरीय अनुगमन समूह पुनः सक्रिय पारिने

२०८३ मंसिर ७, सोमबार १८:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?