दार्चुला । भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ। लाखौं मानिस संक्रमित भएका छन् दैनिक चार हजार मानिसले ज्यान गुमाइरहेका छन्।
महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उहाँका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो।
आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो। सन् १९९७ मा राफेलकी पत्नी सोजाले उहाँहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिनुभएको थियो ।
जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे। केही समयपछि उहाँहरू काम गर्न विदेश जाने सोचमा रहेका थिए।
बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उहाँहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उहाँहरूलाई अस्पतालमा भर्ना गरियो। दुबै जनाको शरीरमा अक्सिजनको मात्रा निकै घटेको थियो।
आनन्द अस्पतालको कोभिड वार्डमा उहाँहरूको उपचार भयो।
अचानक मे १३ मा सोजालाई अस्पतालबाट फोन आयो। उहाँका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दिइयो।
उ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो अब अर्को छोरा पनि बाँच्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए,’ राफेलले भन्नुभयो।
नभन्दै त्यस्तै भयो। केही घण्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृत्यु भयो।
कोरोनाले हाम्रो परिवार ध्वस्त बनाइदियो। मलाई थाहा छैन, भगवानले किन हामीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भन्नुभयो,‘मलाई आशा छ, दाजुभाइ अहिले पनि सँगै होलान्।’





प्रतिक्रिया