दार्चुला । भारतीय सीमा सुरक्षा बल एसएसबीले तीन जना भारतीय नागरिकलाई कार्वाहीको माग गरेको छ। साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी राप्लाको मालघाटबाट तुइन तर्ने क्रममा बेपत्ता हुनुमा एसएसबीको दोष रहेको भन्दै ती तीन जनाले दुष्प्रचार गरेको एसएसबीको आरोप छ।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान दैनिकका अनुसार पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गत पाङला क्षेत्रको गस्कु जयकोटका तीन जना भारतीय नागरिकविरुद्ध एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको हो। ती तिनै जना ट्याक्सी चालक रहेको पत्रिकाले जनाएको छ।
गस्कु जयकोट क्षेत्र नेपालको व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको मालघाट तुइनले जोडिएको छ। सोमबार प्रकाशित समाचारमा एसएसबीको ११ औं बाहिनीले पिथौरागढ जिल्लाका प्रहरी प्रमुख एसपी लाई तीन भारतीय गाडी चालकविरुद्ध कारबाही गर्न पत्राचार गरेको लेखिएको छ।
साउन १५ गतेको घटना अघिसम्म तीनै जनाले अवैध रुपमा तुइनमार्फत नेपाली नागरिकलाई तार्ने गरेको आरोप एसएसबीले लगाएको छ। यसअघि पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले उक्त घटनामा एसएसबीको संलग्नता नरहेको बताउनुभएको छ ।
साउन १६ गते दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई जबाफ पठाउँदै पिथौरागढका जिल्ला अधिकारीले भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संग्लनता नरहेको भन्दै जबाफ पठाउनुभएको हो । तर उक्त घटनाका प्रत्यक्षदर्शी तथा स्थानीयले भने एसएसबीले तुर्इन फुकालेकै कारण जयसिंह महाकालीमा बेपत्ता भइको दाबी गरिरहेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया