दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा अवस्थित धारी स्वास्थ चौकीमा नसर्ने रोगहरुको परीक्षण( ‘स्क्रीनिङ’) शिविर सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा बिहिवार (आज) सञ्चालन भएको शिविरबाट १ सय ७ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय दार्चुलाका ल्याव टेक्निसियन कासि फर्सवानले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो समय नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले नसर्ने रोगहरुको परीक्षण शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तरगत स्वस्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । शिविरमा सहभागी भएका १ सय ७ जनाको रक्तचाप, मधुमेह, तौल तथा उचाई, रगतमा बोसोको मात्रा, दम र श्वासप्रश्वास परीक्षण गरि स्वाथ्यकर्मीले परामर्श दिएको ल्याव टेक्निसियन फर्सवानले जानकारी दिनुभयो ।
शिविरमा सहभागी मध्ये ३२ जनाको सुगर जाँच गरिएकोमा ३ जनामा सुगरको समस्या देखिएको छ । त्यस्तै १३ जनामा रगतमा बोसो जमेको समस्याको परीक्षण १२ जनाको पिसाब जाँच र १०७ जनाको ब्लड प्रेसर जाँच गर्दा १८ जनामा उच्च रक्तचापको समस्या देखिएको छ ।
कार्यक्रमले नसर्ने रोग पहिचान र न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ।




