दार्चुला । दार्चुलामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय दार्चुलाका विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट खोप लगाईदै आएको भए पनि हाल जिल्लामा मौजदात रहेको खोप सकिएको र प्रदेशबाट नपठाएको खोप अभाव भएको उहाँले बताउनुभयो । जिल्लामा रेबिज विरुद्धको (एआरभी) खोप अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।
कुकुर, बिरालो, मुसा लगायतका जनावरले टोकेलगत्तै लगाइने रेबिज रोगविरुद्धको खोप अभाव हुँदा अस्पताल सम्म पुगेका बिरामी खोप नलगाई कनै फर्किने अवथा आएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो ।

जिल्लामा दैनिक २-३ जना रेबिज विरुद्धको खोप लगाउन आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीबाट प्राप्त नभएको तथा अर्को व्यवस्था नभएसम्मका लागि सेवाग्राहीलाई (एआरभी) खोप उपलब्ध गराउन नसकिने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।
जिल्ला अस्पताल दार्चुलाबाट मात्रै बैशाखको हाल सम्म ३६ जना सेवाग्राहीले रेबिज रोगविरुद्धको खोप लिइरहेकोमा अहिले अभाव हुँदा उहाँहरू समेत समस्यामा परेका छन् । किनेरै लगाउन पनि जिल्लाका अन्य क्लिनिकमा समेत खोप नपाउने हुँदा सेवाग्राहीले भारतको धारचुलाबाट महङ्गोमा खोप किनेर लगाउनुपर्ने अवस्था रहेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी भट्टले बताउनुभयो ।
जिल्ला अस्पताल दार्चुलाबाट गत चैत महिनामा १५ जना महिला र ३३ जना पुरुष गरी ४८ जनाले रेबिज रोगविरुद्धको खोप लगाएका छन् । यो खोप एक जनाले तिन डोज लगाउनु पर्ने जिल्ला अस्पतालका प्रमुख डाक्टर संजीव श्रेष्ठले बताउनुभयो ।





प्रतिक्रिया