दार्चुला । किट अभावले दार्चुलाका सीमानाकाहरुमा कोरोना परीक्षण हुन सकेको छैन् ।
दार्चुलाका सिमानाका भएर भारतबाट फर्किने नागरिकहरुलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोकिएको हो । केन्द्रले जिल्लामा किट नपठाउदा भारतबाट फर्किने नागरिकहरुलाई कोरोना परीक्षण गर्न समस्या भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्र भट्टले जानकारी दिनुभयो ।
भारतमा पुनः कोरोनाको लहर फैलिएको अवस्थामा रोजगारीको लागि गएका नागरिकहरु दार्चुलाका विभिन्न सीमानाका हुदैँ फर्किरहेको भएपनि किटहरुको अभावमा परीक्षण भने गर्न नसकिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना परीक्षणको लागि किट माग गरेको र जिल्लामा किट पुगेलगत्तै सीमानाकाहरुमा कोरोनाको परीक्षण गरिने प्रमुख भट्टले बताउनुभयो ।




