दार्चुला । स्वास्थ्यकर्मी आन्दोलनले सुदूरपश्चिमका स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावित भएको छ । प्रदेश सरकारले जारी गरेको स्थानीय तह (गठन तथा सञ्चाल) ऐन, २०८१ को समायोजन ऐनको विरोधमा सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानीय तहहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित छन।
आन्दोलित भएका स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकका सेवाहरू ठप्प पारेका छन। विज्ञप्ति जारी गर्दै स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समिति सुदूरपश्चिमले प्रदेशका ८८ वटै स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्थाबाट प्रवाह गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू प्रवाह गर्न नसकिने जनाएको छ। उक्त विज्ञप्तिमा असार महिनाको मासिक रिर्पोट पनि प्रविष्ट गर्न नसकिने भनिएको छ।
सङ्घर्ष समितिका संयोजक राजेन्द्र सिँह साउँदले स्वास्थ्यकर्मीहरूको न्यायोचित माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाउदा तथा धर्नामा बस्दा पनि छलफलमा नबोलाएको हुँदा आइतवार देखी सेवाहरू बन्द गरिएको बताउनुभयो। स्वाथ्यकर्मीहरुले आइतवार पनि सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्ना जारी राखेका छन्।
सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरू आन्दोलनमा उत्रेको उनीहरूको तर्क छ। स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरे अनुसार आफूहरूको दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने बताएका छन्। सुरुमा स्थानीय तहमा समायोजन गर्दा समेत स्वास्थ्यकर्मीहरूमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको स्वास्थ्यकर्मीहरूको गुनासो छ।





प्रतिक्रिया