दार्चुला । मार्मा गाउँपालिकाले स्वास्थ्य सेवाको आधारभुत पहुँच नपुगेका र दुर्गम वस्तीहरुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने क्रममा सोमबार मार्मा गाउँपालिका वडा नम्बर ५ को जन्नीगाउँमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना गरेको छ ।
जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामीको प्रमुख आतिथ्यता र मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी, उपाध्यक्ष बागमती ठगुन्ना, कार्यपालिका सदस्यहरु, वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागितामा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन गरिएको मार्मा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुरेन्द्रसिह महताले जानकारी दिनुभयो ।
यसअघि गाउँपालिकाले विभिन्न वडाको पाँच वटा दुर्गम गाउँहरुमा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिसकेको छ । भने वडा नम्बर १ गुल्जरको दुई ठाउँमा स्वास्थ्य इकाई केन्द्र उद्घाटनको तयारी भइरहेको छ ।
मार्मा गाउँपालिका गाउँकार्यपालिकाको निर्णय अनुसार चालु आर्थिक वर्षभित्र गाउँपालिकाको आठ वटा स्थानमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना हुदैछन् । प्रतेक स्वास्थ्य इकाई केन्द्रमा एक/एक जना अहेब, अनमी र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
हालसम्म वडा नम्बर १ को ताकु, वडा नम्बर ३ को भैसे, वडा नम्बर ४ को बार्कु, वडा नम्बर ६ को परिवन र माङदाङमा स्वास्थ्य एकाई स्थापना गरिसकेको छ । जन्नीगाउँमा छैटौँ स्वास्थ्य इकाई केन्द्रको स्थापना गरिएको हो । यसपछि वडा नम्बर १ को दह र तोलीमाण्डौमा स्वास्थ्य एकाई स्थापना गर्ने तयारी भइरहेको छ ।
देश संघिय संरचनामा जानुअघि लटिनाथ, शेरी, सितोला, तपोवन र घोल्जरमा स्वास्थ्य चौकी थिए । अहिले गाउँपालिकाले एउटै वडामा जनताको आवश्यकताको आधारमा दुुई वा दुई भन्दा बढि स्वास्थ्य एकाई समेत थप्दै लगेको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिनुभयो ।
मार्मा गाउँपालिकाको सबै भन्दा विकट वडा नम्बर १ मा थप दुई वटा स्वास्थ्य एकाई स्थापना भएपछि मार्माली जनताले प्राथमिक उपचारका लागि घण्टौँ हिड्नुपर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष धामीले बताउनुभयो ।
अहिले मार्मा गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै खर्चमा डाक्टर नियुक्त गरेर लटिनाथ स्वास्थ्यचौकीमा सेवा विस्तार गरेको छ । निकट भविष्यमा मार्मास्थित लटिनाथ स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने सरकारको योजना छ ।
जनताको आवश्यकता र चुनाबी प्रतिबद्धता अनुसार स्वास्थ्यको क्षेत्रमा मार्मा गाउँपालिकाले नमुना काम गरिरहेको वडाअध्यक्ष सुरेन्द्रसिह महताले दाबी गर्नुभयो । जनताको समस्यालाई मध्यनजर गरेर आवश्यकता महसुस भए अगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको आधारभुत पहुँच नपुगेका गाउँहरुमा स्वास्थ्य इकाई विस्तार गरिने उहाँको भनाई छ ।




