शुक्रबार दार्चुला सदरमुकाम खलंगास्थित स्वास्थ्य कार्यालयमा आयोजित स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुबिचको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना र प्रदेशसभा सदस्यहरुले स्वास्थ्य क्षेत्र सुधारको योजना सुनाउदै स्वास्थ्यकर्मीहरुबाट सुझाब मागेपछि स्वास्थ्यकर्मी उत्साहित भएका छन् ।
चालु आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम अन्तर्गत दार्चुलामा आउने केन्द्रको ४ करोड र प्रदेशको ६ करोड बजेटमध्ये ठूलो रकम स्वास्थ्य क्षेत्रको स्तरोन्नती र कोरोना नियन्त्रणमा खर्च गर्ने तयारी गरिएसँगै प्रदेश र प्रतिनिधिसभाका सदस्यहरुले स्वास्थ्यकर्मीसँग छलफल गरेका छन् । प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना र प्रदेशसभा सदस्यद्धव गेल्बुसिह बोहरा र मानबहादुर धामी सन्तोषको आतिथ्यतामा स्वास्थ्य कार्यालय दार्चुला, दार्चुला र गोकुलेश्वर दुबै अस्पतालका चिकित्सकहरु, दार्चुलाका नौँ वटै स्थानीय तहका स्वास्थ्य शाखा संयोजक लगायत सरोकारवालाहरुबिच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा अन्तरक्रिया गरिएको छ ।
कोरोना संग जुध्न कस्तो रणनीति अपनाउने, अहिलेको तयारी र अगामी योजना लगायत विषयमा सकारात्मक छलफल भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिको बैठकले स्वास्थ्य सामाग्री खरिदका क्षेत्रमा बजेट विनियोजन गर्ने सहमति गरेपछि प्रतिनिधि र प्रदेशसभा सदस्यहरुले स्वास्थ्यकर्मीहरुबाट सुझाब लिएका छन् । प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले दार्चुला सदरमुकाममा पीसीआर मेसिन, अक्सिजन प्लान्ट, भेन्टिलेटर, दुई वटा आईसियु बेड र गोकुलेश्वर अस्पतालमा भेन्टिलेटर र दुई वटा आइसियु बेड राख्ने सहमति भएको कुरा सुनाउदा स्वास्थ्यकर्मीहरुले स्वागतयोग्य कदम भन्दै धन्यबाद व्यक्त गरेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुले कोरोना महामारीसंग जुध्न कम्तिमा हरेक स्थानीय तहमा अक्सिजनको मात्रा मापन गर्ने यन्त्र पल्स अक्सिमिटर र अक्सिजन सिलिण्डर, आकस्मिक हेलिकोप्टर सेवा वर्तमान अवस्थामा अत्यावश्यक भएकोले त्यसको समेत व्यवस्थापन गर्न सुझाब दिएका छन् ।
छलफलको अन्त्यमा सासंद गणेशसिह ठगुन्नाले स्वास्थ्यकर्मीहरुले दिएका मूल्यमान सुझाबहरुलाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा अहिले दार्चुला र गोकुलेश्वर अस्पतालमा भएको भौतिक व्यवस्थापन, जनशक्ति तथा स्वास्थ्यको समस्या र अगामी योजना तथा आवश्यकताबारे समेत छलफल गरिएको छ । जनप्रतिनिधिहरुले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने क्रान्तिकारी कदम चालेको भन्दै स्वास्थ्यकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।






प्रतिक्रिया