नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ ।
साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले दिनुुभएको छ ।
खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा. गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ ।
नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ । दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ । अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् ।
विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो । सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।
कोभ्याक्स अभियानअन्तर्गत स्वास्थ्य सङ्गठनले अल्पविकसित तथा कम विकसित मुलुकलाई पहिले खोप उपलब्ध गराउने पहिल्यै घोषणा गरिसकेको छ । सोअनुसार नेपालले त्यसअन्तर्गत पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप पाउनेछ ।
अर्कोतर्फ सरकारले रकम तिरेर सरकार आफैँले खरिद गर्नका लागि खोप खरिद कोष नै खडा गरेर प्रक्रिया थालेको छ । त्यसमार्फत २० प्रतिशत बाहिरका नागरिक समेतलाई पुग्ने गरी खोप खरिद गर्ने तयारी भइरहेको छ ।





प्रतिक्रिया