गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध

२२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।

बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन् । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ’ उनले भनिन् ।

मावधकुमार नेपाल प्रधानमन्त्री हुँदा भौतिक योजनामन्त्री गच्छदारले नीतिगत निर्णयका लागि प्रस्ताव लगेको भन्ने थाहा भएको भन्दै उनले भनिन्, ‘यो नीतिगत निर्णयलाई आधार बनाएर आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसको निर्णयकर्ता भौतिक योजनामन्त्री गच्छदार जग्गा वितरण गर्ने, लालपूर्जा दिने अधिकार लिएर गएको हो वा प्रधानमन्त्रीको नेतृत्वमा निर्णय भएको हो ?’

विभिन्न प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय हुने भन्दै भुसालले भनिन्, ‘प्रधानमन्त्रीले चाहनु भएन र मुख्य सचिवलाई निर्देशन दिनुभएन भने फाइल थन्किएर बस्छन् । प्रधानमन्त्री र मुख्य सचिवको स्वीकृति विना प्रस्तावले प्रवेश नै पाउँदैन भने तत्कालीन भौतिक योजनामन्त्री प्रस्ताव लैजानासाथ पास हुनुपर्छ भन्ने नियम छ र ? छैन ।’

आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता गच्छदारलाई मुद्दा लगाउनु प्रतिशोधपूर्ण भएको कांग्रेसको दाबी छ । अख्तियारको आरोपपत्र विरोधाभाषपूर्ण रहेको भन्दै कांग्रेस प्रमुख सचेतक भुसालले भनिन्, कुनै सचिवलाई मुद्दा दायर गर्ने, कुनैलाई नगर्ने, कुनै मुख्य सचिवलाई गर्ने, कुनैलाई नगर्ने र कुनै मन्त्रीलाई गर्ने, कुनै मन्त्रीलाई नगर्ने किन ?’

गच्छदार प्रजातन्त्रका लागि १० वर्ष जेल बसेको, थारु समुदायको नेतृत्व लिएको तथा ०४६ पछि जनताले पटकपटक अभिमत दिएर आफ्ना नेताका रुपमा स्वीकार गरेको भन्दै भुसालले त्यो मतको सम्मान गर्नुपर्ने बताइन् ।

गच्छदारलाई भ्रष्टाचार मुद्दा चलाएको विरोधमा कांग्रेसले संसद बैठक चल्न नदिने नेतृ भुसालले बताइन् ।

लगत्तै कांग्रेस सांसदहरु उभिए । विपक्षी सांसद उभिएर संसद अवरोध गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?