
दार्चुला । दार्चुलाका नौ वटै स्थानीय तहमा गरी १५ सय २८ जना क्वारेन्टाइनमा बसेका छन् । भारतका विभिन्न सहरका साथै जिल्ला बाहिरबाट आउनेहरुको संख्या ह्वात्तै बढेपछि सबै स्थानीय तहका क्वारेन्टाइन भरीएका छन् ।
नौगाड गाउँपालिकामा २७४ जना, अपिहिमाल गाउँपालिकामा २११ जना, शैल्यशिखर नगरपालिकामा २०९ जना, मालिकार्जुन गाउँपालिकामा २०६ जना, लेकम गाउँपालिकामा २०५ जना क्वारेन्टाइनमा बसेका छन् । महाकाली नगरपालिकामा १४२ जना, मार्मा गाउँपालिकामा १५८ जना, व्याँस गाउँपालिकामा ९४ जना र दुहुँ गाउँपालिकामा ३९ जना क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
लेकम गाउँपालिकामा ११ वटा क्वारेन्टाइनमा ७ जना महिला र १९८ जना पुरुष गरी २०५ जना बसेको स्वास्थ्य शाखा संयोजक हरिदत्त जोशीले जानकारी दिनुभयो । वडा नम्बर १ सर्मोलीको बडिपुर माबि सर्मोलीमा २१ जना पुरुष, लटिनाथ माबि चौड बित्थडमा ८ जना र केदारनाथ आबि बित्थडमा १२ जना गरी ४१ जना, वडा नम्बर २ को हुनैथान माबि कुणीमा ४६ जना पुरुष क्वारेन्टाइनमा बसेका छन् ।
लेकम गाउँपालिका वडा नम्बर ३ को कृष्ण स्नातक क्याम्पस लालीमा ३ महिला १७ पुरुषगरी २० जना, वडा नम्बर ४ को गल्लाकेदार माबि खरकडामा २८ जना पुरुष, तमैराज आबि मलेरामा ९ जना पुरुष र तमैराज आबि जोगिकोइरालीमा ११ जना पुरुषगरी ४८ जना क्वारेन्टाइनमा बसेका छन् । वडा नम्बर ५ को लटिनाथ नमुना माबि चन्दनपुर चौपातामा १५ जना पुरुष, वडा नम्बर ६ को मालिकार्जुन आबि उचाकोटमा ४ महिला, १६ पुरुष गरी २० जना र भैरबनाथ आबि श्रीपुरमा १५ जना पुरुष गरी ३५ जना क्वारेन्टाइनमा बसेका छन् ।
अझै बाहिरबाट आउनेहरु सम्पर्कमा रहेकोले क्वारेन्टाइनमा बस्नेहरुको संख्या ह्वात्तै बढ्ने देखिएको छ । जिल्लाबाहिर रहेका विद्यार्थी, मजदुर र कर्मचारी बाहिरबाट आउनेक्रम जारी रहेकोले सबैजसो स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या थपिदै जाने सम्भावना बढी रहेको छ । बाहिरबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले क्वारेन्टाइनमा बस्न अटेर गर्ने काम नगरीदिन जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।
जिल्लाभरी क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दै गएपछि जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा आइसोलेसन बेडको संख्या समेत थप गरीएको छ । जिल्ला अस्पताल दार्चुलामा ७ वटा आइसोलेसन बेडबाट बढाएर १३ पुर्याइएको छ । भने गोकुलेश्वर अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ । जिल्लाभरी १७ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयो ।
कोरोना संक्रमण भएका महाकाली नगरपालिका वडा नम्बर ५ का युवकको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । दोस्रो चोटी कोरोना परीक्षणका लागि उहाँको थ्रोट स्वाबको नमुना धनगढी पठाइसकेको भएपनि रिपोर्ट आइसकेको छैन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैले अनिवार्य क्वारेन्टाइनमा बस्न, सामाजिक दुरी कायम गर्न, व्याक्तिगत सरसफाइमा विशेष ध्यान दिन र अत्यावश्यक काम बाहेक घरबाहिर नजान स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।