
दार्चुला । दार्चुला र बैतडी जिल्लाका किसानहरूले खेतमा लगाएको मकैबाली अज्ञात किराले नस्ट गरिरहेको छ । आफुले जमिनमा लगाएको मकैबाली नष्ट भइरहदा किसानहरुले चिन्ता व्यक्त गरेका छन ।
शैल्यशिखर नगरपालिका ९ नक्तडका स्थानीय राजेशसिंह बिष्टले भन्नुभयो, “गत बैशाखमा खेतमा मकै लगाएका हौ, खेतमा लगाएको मकै गोड्न जादा मकैका बोटमा ठाउँठाउँमा प्वालहरु छन । यसपालि उम्रिनै लागेको मकैबालीमा किरा लागेपछि सोचेजस्तो बाली भित्र्याउन सकिएला जस्तो छैन।“ गोकुलेश्वर लगायत क्षेत्रमा किराले मकैबाली सखाप पार्न थालेको भन्दै किसानहरुले प्राविधिक सहयोगको लागि अपिल गरेका छन् ।
त्यस्तै बैतडीको पुर्चौडी नगरपालिका—२ महादेवस्थानको जर्सौ टोलमा रहेका ६० परिवारको खेतमा लगाएको मकैबाली २ हप्तादेखी अज्ञात किराले नस्ट गरिरहेको स्थानीय डम्मरराज पन्तले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाका स्थानीय नरेन्द्र बिष्टका अनुसार दोगडाकेदार गाउँपालिका वडा नम्बर १ को रिम, गोरङ र वडा नम्बर ३ को सित्तड लगायत बस्तीमा मकै नउम्रिने र उम्रेको बोटमा समेत किराको प्रकोप देखिएको छ ।
खेतमा छरेको मकै नउम्रिदा विभिन्न वस्तीका किसान खेतमा दोस्रो चोटी मकै लगाउन थालेका छन् । बैशाख अन्तिम साताबाट देखिएको किराको प्रकोपले मकैबाली नष्ट भएपछि किसान मारमा परेका हुन् ।
गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि चिन्तित बनाएको हो । किराले गुबो खाएपछि मकै फस्टाउन पाएको छैन् ।
बर्खेमकैमा फौजीकिराले पातै नआउने गरी मकैको गुबो सखाप बनाएपछि मकै भित्र्याउने आशा मरेको गोकुलेश्वरका कृषक गंगादत्त जोशीले बताउनुभयो ।
कृषि विज्ञहरूले भने उक्त किरा अफ्रिका महादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह वा अमेरिकी फौजी किरा हुन सक्ने अनुमान लगाएका छन । सलह किराले वि.सं. २०२० मा समेत नेपालमा अन्नबाली नस्ट गरेको र उतिबेला नेपालमा भोकमरी भएको बताएका छन।
पहाडी क्षेत्रको मुख्य खाद्यान्नको रुपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश छन् । किराको प्रकोपले एकपछि अर्को गर्दै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्नको अभावको चिन्ताले सताएको हो ।
लकडाउनले किटनाशक औषधी लिनसमेत समस्या भएपछि किसान झन समस्यामा छन् ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।