दार्चुला । भारतबाट फर्किएर बैतडीको क्वारेन्टिनमा बसेका अर्का एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो ।

उहाँ शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आउनुभएकाे थियाे । साँझ एकाएक बेहोस भएका उहाँलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिनुभयाे ।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयाे। मृतकको दाहसंस्कार गर्ने विषयमा छलफल पनि भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयाे ।

‘भारतबाट सँगै आएका मृतकका सहोदर भाइले आफूहरु सुरक्षित स्थानबाट सुरक्षित तरिकाले आएकाले कोरोना संक्रमण नभएको दावी गर्दैछन्,’ महराले भन्नुभयाे, ‘उनीहरु अब शव सड्न नदिने भन्दै दाहसंस्कार गर्ने जिद्दी गरिरहेका छन् ।’ उनीहरुले हृदयघातका कारण मृत्यु भएको दावी गरिरहेको महरा बताउँछन् ।

मृतकसँगै उहाँका भाइसहित अन्य १३ जना एउटै गाडीमा आएका थिए । उनीहरुमध्ये पाँच जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आएको महराले जानकारी दिएभयाे । सबैको स्वाव संकलनका लागि जिल्लामा भिटिएम किट नभएकाले मृतकको मात्रै स्वाब पठाइएको उहाँले बताउनुभयाे ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेका एक महिलाको जेठ २० गते मृत्यु भएको थियो । पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको कोरोना पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

डोटीमा भारतबाट फर्किएका युवकको मृत्यु

डोटीमा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले उनको आज बिहान सिताराम आधारभुत विद्यालयको क्वारेन्टिमा मृत्यु भएको बताउनुभयाे। युवक ७ दिन पहिले भारतको लुधियानाबाट फर्किएका थिए।

उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि आजै धनगढी पठाउने तयारी रहेको कोभिड–१९ सम्पर्क व्यक्ति विष्टले बताउनुभयाे।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?