
दार्चुला । स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसी दार्चुलाका दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा पुगेर जनतालाइ नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ ।
व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा सेवा दिएका डा. केसी अपिहिमाल गाउँपालिका पुग्नुभएको छ । अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्यचौकीमा जनतालाई दुई दिन नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने डा. केसीले बताउनुभयो ।
सुदूरपश्चिमको दुर्गम हिमाली दार्चुला जिल्लाको शिक्षा र स्वास्थ्य अवस्था निकै दयनिय छ । मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल दार्चुलामा स्थापनाकालको तीन दशक बढी समय बितेपनि अहिलेसम्म प्रमुख डाक्टर नआउदा निमित्तको भरमा अस्पताल सञ्चालनमा छ ।
जटिल तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि दार्चुलावासीले भारतको पिथौरागढ लगायत विभिन्न जिल्ला र नेपालको डडेल्धुरा, कैलाली, नेपालगञ्ज, काठमान्डौँ लगायतका अस्पताल धाउनुपर्ने बाध्यता छ ।
सामान्य स्वास्थ्य परीक्षणका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यतामा बाचेका दार्चुलाको दुर्गम क्षेत्रका नागरिकलाई डाक्टर गोविन्द केसीले नि:शुल्क स्वास्थ्य उपचार र परामर्श सेवा दिइरहनुभएको छ ।
स्वास्थ्य सेवा मात्र हैन दार्चुला सहित सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको शिक्षा, स्वास्थ्य, यातायात लगायत आधारभुत पूर्वाधारको सुनिश्चितता गर्नुपर्ने, सीमा क्षेत्रमा भारतीय हस्तक्षेपको अन्त्य गर्दै अतिक्रमित भूमि फिर्ता गर्न र स्वास्थ्य क्षेत्रका विसंगति सुधारको माग सहित जेठ २० र २१ गते दार्चुला सदरमुकाम खलंगामा दुई दिने अनसन समेत बस्नुभएको थियाे ।
गाउँमा पहिलो डाक्टर पुगेर निशुल्क स्वास्थ्य सेवा पाएपछि दुर्गम गाउँका स्थानीय खुसी भएका छन् । शनिबार मार्मा गाउँपालिका पुगेर आइतबार र सोमबार स्वास्थ्य सेवा प्रदान गरेका डाक्टर गोविन्द केसी मंगलबार दुर्गम गाउँपालिका अपिहिमाल उक्लीनुभएको छ । अपिहिमालको खण्डेश्वरी स्वास्थ्यचौकीमा समेत नागरिकलाई दुई दिन निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर गोविन्द केसीले बताउनुभयो ।
घण्टौँ पैदल हिडेर दुर्गम क्षेत्रमा पुगेका डाक्टर गोविन्द केसीलाई स्थानीय नागरिकले स्वागत गरेका छन् । दार्चुलाका सबैभन्दा विकट मानिने व्याँस, अपिहिमाल, मार्मा गाउँपालिकाका साथै जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा समेत उहाँले स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ ।
मार्मा गाउँपालिकाबाट मकरीगाड हुदै अपिहिमाल जादै गरेका डा.गाेविन्द केसी

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।