दार्चुलाका पाँच सहित देशभरिका ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहमा पाँच देखि १५ शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीति बमोजिम अस्पताल भवनको शिलान्यास गर्न लागिएको हो ।
दार्चुलाका पाँच वटा स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न चार करोड २५ लाख बजेट निकासा गरिएको छ । लेकम गाउँपालिकाको रिठाचौपाता स्वास्थ्य चौकी, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकी, नौगाड गाउँपालिकाको खार स्वास्थ्य चौकी, दुहुँ गाउँपालिकाको धारी स्वास्थ्य चौकी र मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै १० शैयाको अस्पताल निर्माण गर्न लागिएको छ ।
पाँच वटै स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नती गर्दै १० शैयाको अस्पताल निर्माणको लागि सम्बन्धित स्थानीय तहमा ८५ लाखका दरले चार करोड २५ लाख बजेट निकासा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुबै मन्त्रालयका पदाधिकारीहरुबीच कात्तिक २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले सोमबार एक विज्ञप्ति जारी गर्नुहुँदै अस्पताल निर्माणका लागि ६४९ वटै स्थानीय तहमा बजेट उपलब्ध गराइसकिएको जानकारी दिनुभएको छ । बाँकीको स्थानीय तहमा यसअघि नै आधारभूत अस्पतालको संरचना कायम रहेको छ ।
अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै स्थानीय तहमा उपलब्ध गराउनेछ । मन्त्रालयले गत् भदौ महिनामा सबै पालिकामा आधारभूत अस्पताल गर्न आवश्यक स्रोत साधन र बजेट परिचालनको तयारी गरिएको जनाएको थियो । एक साताभित्रै मौजूद संरचनामा अस्पताल सञ्चालनको तयारी गर्न सबै पालिकालाई निर्देशन दिएको थियो । तर उक्त निर्णय बमोजिम चिकित्सक र स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री उपलब्ध नहुँदा कार्यान्वयन हुन सकेको छैन् ।
दुबै मन्त्रालयका पदाधिकारीहरुबीचको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, भेन्टिलेटर लगायतका उपकरण तात्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना अगाडि बढाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । उक्त कार्ययोजना कार्यान्वयनको आर्थिक व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउनेछ ।
यो पनि पढ्नुहोस : दार्चुलामा ५ स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न ४ करोड २५ लाख बजेट निकासा





प्रतिक्रिया