दार्चुला। दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पतालको उद्घाटन गरिएको छ ।
कोरोना भाईरसबाट संक्रमितहरुको उपचार गर्नका लागि आइतबार (आज ) गाउँपालिकाले लटिनाथमा ५ शैयाको कोभिड –१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिह धामीले उद्घाटन गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले पनि अस्पतालको उद्घाटन गरेको हो ।
मार्मा गाउँपालिकाले अस्पतालको सम्पूर्ण व्यवस्थापकीय कार्य पूरा गरि आजबाट औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर २ लटिनाथ स्वास्थ्य चौकीमा कोभिड अस्पताल बनाएको हो ।
अस्पतालमा अक्सिजनसहितको औषधीहरुको समेत ब्यवस्था गरिएको अध्यक्ष धामीले बताउनुभयो । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स, र एक जना कार्यालय सहयोगी भर्ना गरेको सहकर्मी नरेन्द्र जोशीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, उपाध्यक्ष बागमती ठगुन्ना, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार राना, गाउँपालिका स्वास्थ्य शाखा संयोजक चक्रसिह धामी लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।




