दार्चुला । भारतीय राजदुतावासले नेपाल भूपू सैनिक संघ दार्चुलालाई उपलब्ध गराएको एम्बुलेन्स लेकम गाउँपालिकालाई दिइने भएको छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति दार्चुलाको बैठकले भारतका राष्टपिता महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा प्राप्त एम्बुलेन्स लेकम गाउँपालिकालाई दिने निर्णय गरेको हो ।
लेकमका जनताहरुको मागका आधारमा एम्बुलेन्स हन्तान्तरण गर्ने निर्णय गरिएको नेपाल भूतपूर्व सैनिक संघ दार्चुलाका अध्यक्ष तुला गिरीले जानकारी दिनुभयो । महात्मा गान्धीको जन्म जयन्तीको अवसरमा भारतीय दुतावासले भूपू सैनिक संघ दार्चुला, नेपाल भारत मैत्री संघ र महाकाली नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको थियो । नेपाल भारत मैत्री संघलाई प्राप्त एम्बुलेन्स यसअघि नै व्याँस गाउँपालिलाई हस्तान्तरण गरिएको छ ।
बुधबारको बैठकमा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष तुला गिरी, सचिव अम्भा दत्त भट्ट, नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति ललित सिंह बोहरा, सचिव हरक विष्ट, लेकम गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष एबं गाउँपालिकाका प्रवक्ता महेन्द्र राज जोशी, नेपाली काँग्रेस दार्चुलाका नेता मदन गिरी लगायतको उपस्थिती रहेको थियो ।
लेकम गाउँपालिका र नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्य समितिबिच सम्झौता गरी एम्बुलेन्स छिटै लेकम गाउँपालिकालाई हस्तान्तरण तथा संचालन गरिने बताइएको छ । दुतावासबाट सैनिक संघलाई प्राप्त एम्बुलेन्स काठमाण्डौँबाट लेकम गाउँपालिकासम्म ल्याउन लागेको खर्च व्यहोर्ने निर्णय यसअघि नै लेकम गाउँपालिकाले गरिसकेको जनाएको छ ।






प्रतिक्रिया