दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुरको कोटिला गाउँमा लिप्टीङ खानेपानीको सफल परीक्षण गरिएको छ ।
गत आर्थिक वर्ष २०७६।०७७ मा संघीय सरकारको अनुदान र मालिकार्जुन गाउँपालिकाको सहयोगमा कोटिला गाउँमा पहिलो पटक लिफ्टमार्फत खानेपानी पुर्याइएको वडाअध्यक्ष प्रेमराज पन्तले जानकारी दिनुभयो ।
साढे पाँच सय मिटर तल बाट सौर्य उर्जाको प्रयोग गरेर लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको उहाँले बताउनुभयो । शंरपुरको कोटीला र गोरेकाडाका झण्डै ५० घरधुरीलाई लक्षित गरि लिप्ट खानेपानी योजना सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय उमेश सिह धामीले भन्नुभयो, लिप्ट खानेपानीको सफल परीक्षण भएर गाउँमा पानी पुगेसंगै बर्षौदेखि टाढाबाट पिठ्युमा बोकेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
गाउँमा खानेपानी पुर्याउन सहयोग गर्ने गाउँपालिकादेखि प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुलाई स्थानीयले धन्यबाद व्यक्त गरेका छन् ।




