बिश्व प्रसिद्ध फुटबल हस्ती म्याराडोनाको निधन, विश्व फुटबल जगत शोकाकुल

बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ ।

म्याराडोनाको अर्जेन्टाइनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दियो ।

यही महिनाको शुरुमा मस्तिष्तमा रगत जमेका कारण सफल शल्यक्रिया गरिएका म्याराडोनालाई मदिराको लतबाट हटाउने उपचार सुरु गर्ने तयारी भइरहेको थियो ।

८० को दशकका सफल खेलाडी म्याराडोना विश्वकै अहिलेसम्मका सर्वाधिक सफल र लोकप्रिय खेलाडी मानिन्थे ।

उनको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल जितेको थियो ।

४ वर्षपछि सन १९९० को विश्वकपमा क्याराडोनाकै नेतृत्वमा फाइनलसम्म पुगेको अर्जेन्टिना तत्कालिन वेष्ट जर्मनीसँग पराजित भएपछि उपाधि बिमुख बन्यो ।

९० को दशकमा कोकिनको लतमा फसेका म्याराडोना सन् १९९१ मा १५ महिने प्रतिबन्धमा परे । १९९४ मा अमेरिकामा भएको विश्वकपमा ड्रग टेष्टमा दोषी पाइएपछि उनलाई देश फर्काईयो ।

त्यसपछि म्याराडोनाको खेल करियर र जिवनमा दोस्रो इनिङ सुरु भयो । ३७ वर्षको उमेरमा सन् १९९७ मा उनले खेलाडि जिवनबाट सन्यास लिए ।

२००८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीका प्रशिक्षक बनेका म्याराडोनाले दुई वर्ष प्रशिक्षकको भूमिका पनि निभाए ।

राजनीतिक रुपमा विश्वबाट एक्लिएको क्युबाका तत्कालिन राष्ट्रपति फिडेल क्याष्ट्रोसँग घनिष्ठ सम्बन्ध राख्ने म्याराडोनाले जिवनको केही सयम क्युबामै बिताए ।

बाँकी विश्वसँग भने उनको सम्बन्ध र निकटता चिसिदै गयो । पटक पटक विवादास्पद अभियक्ती दिने म्याराडोनाले आफु ब्राजिलियन फुटबलर पेलेभन्दा पनि अब्बल रहेको जिकिर गर्दथे ।

तिनै पेलेले म्याराडोनाको निधनमा गहिरो शोक व्यक्त गरेका छन् । अर्जेन्टाइनी फुटबल संघले पनि एक बक्तब्य प्रकाशित गरी म्यारोडोनाको निधनले विश्व फुटबलबाट एक हस्ती अस्ताएको जनाएको छ ।

म्यारोडोनाको सम्मानमा अर्जेन्टिना सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले विश्वमा आफ्नो देशलाई चिनाउन म्याराडोनाले गरेको योगदान सधैं स्मरणीय रहने बताउनुभयो ।

म्याराडोनाले आफ्नो देशका लागि खेलेका ९१ खेलमा ३४ गोल गरेका छन् ।

सन् १९८६ को विश्वकपमा इंग्ल्याण्ड विरुद्धको क्वाटरफाईनल खेलमा म्याराडोनाले गरेको गोललाई विश्व फुटबलमा एउटा चमत्कार मानिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?