दार्चुला । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापा सहित बैतडीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।
शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रमुख थापा सहित थप १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला अस्पातल र स्वास्थ्य कार्यालयमा कार्यरत ३ जना स्वास्थ्यकर्मी, नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका एक जना, दुईजना श्रीलंकाली पर्यटक र दशरथचन्द नगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।
कोरोना पुष्टि भएका स्थानीयहरु बजार क्षेत्रकै बढी रहेको उहाँले बताउनुभयो । शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ५५१ पुगेको छ ।
संक्रमित मध्ये ५५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा ४, पाटन नगरपालिकामा ३ र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्ला अस्पातल बैतडीको प्रयोगशालामा शनिबार ७४ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो । १९ जना मध्ये १८ जना बैतडीका हुन् भने एकजना दार्चुलाको मार्माका रहेका जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिनुभयो ।
आफ्नो सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन मेयर थापाको आग्रह
दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले आफूमा कोरोना पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित बस्न र कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।
केही दिन अघिबाट ज्वरोको लक्षण देखिएका मेयर थापामा शनिबार कोरोना पुष्टि भएको हो ।
उहाँले आफूसंग सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ । आफू अहिले घरमै बसीरहेको र विभिन्न जडीबुटी सहित औषधि सेवन गरिरहेको प्रमुख थापाले बताउनुभयो ।
अहिले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको उहाँले बताउनुभयो । मेयर थापाले आफूले कोरोनासंगको लडाँई जितेर काममा फर्किने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
दशरथचन्द नगरपालिका कोरोनाको हटस्पट बन्ने चेतावनी
बैतडीको दशरथचन्द नगरपालिका कोरोनाको हटस्पट बन्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
नगरपालिकाकै ३६ जना सक्रिय संक्रमित रहेका र एकैदिन १८ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
चिसोको समयमा कोरोनाको संक्रमण झन् फैलिने भएकाले स्वास्थ्य सुरक्षता सतर्कताका मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
कोरोना भाईरसको औषधि नबनेको सन्दर्भमा नगरपालिकाले गरेको लकडाउन पूर्ण रुपमा परिपालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।




