विश्वभरमा चार करोड ५३ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा चार करोड ५३ लाख ३७ हजार चार सय ९० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हालसम्म विश्वमा ६ करोड ५४ लाख ९६ हजार ७२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख १० हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८६ लाख ४७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ४५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८५ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ८२ हजार सात सय चार जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म ९५ लाख ६४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९० लाख आठ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार एक सय दुई जना पुगेको छ ।
नेपालमा हालसम्म दुई लाख ३७ हजार पाँच सय ८९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २० हजार दुई सय ७२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय ५१जनाले ज्यान गुमाइसकेका छन् ।
रुसमा १ लाख बढीलाई कोरोनाविरुद्धको खोप
रुसमा एक लाख भन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ । रुसले गएको अगष्टमा निर्माण गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक–भी एक लाख बढीले लगाएका हुन् ।
अगष्ट ११ मानै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो । खोप प्रभावकारी भएको भन्दै प्रयोगमा ल्याएको हो । कोरोनाविरुद्ध खोप लगाउने रुस विश्वको पहिलो देश भएको बताइएको छ ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् । गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो ।





प्रतिक्रिया