दार्चुला । जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातल दार्चुलामा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएको हो ।
कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । कोरोना भाईरसका जटील खालका बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले बताउनुभयो ।
अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएपनि दक्ष जनशक्ति अभावमा सञ्चालन गर्न समस्या हुने देखिएको छ । आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भए पनि प्रदेश सरकारले उपकरण संग दक्ष जनशक्ति नपठाउदा आईसियु कक्ष सञ्चालनमा समस्या हुने भएको हो ।
तत्कालका लागि अस्पतालले भेन्टिलेटर सहितको दुई बेडको आइसियु कक्षको काम जिल्ला अस्पतालकै कर्मचारीहरुले सञ्चालन गर्ने गरि ब्यवस्था मिलाई रहेको डाक्टर दुवालले बताउनुभयो । जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई आइसियु सञ्चालनका लागि तालिमको आवश्यकता पर्ने भएकोले दुई जना नर्सहरुलाई तालिम दिइएको उहाँले बताउनुभयो ।
यसैबिच जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर सहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातलमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया