दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा बिहिबार (आज) स्वास्थ्यकर्मी घरभेट तथा स्वास्थ्य परामर्श सेवा कार्यक्रमको उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले गाउँपालिकास्थित स्वास्थ्य शाखा संयोजक राजेन्द्रसिंह धामीलाई शरीरमा अक्सिजनको मात्रा मापन गर्ने उपकरण अक्सोमिटर, ईन्फाइरेट थर्मोमिटर, पीपीई सेट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई गाउँपालिकाबासीको घरदैलोमा परिचालन गरेर स्वास्थ्य सेवा र परामर्श दिने उद्धेश्यले कार्यक्रमको उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष मन्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कोभिड १९ बाट बृद्धबृद्धा र दिर्घरोगीहरु बढी जोखिममा भएको कारण नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्यकर्मी र स्वास्थ्य सेवालाई घरदैलोमा पुर्याउने उद्धेश्यले कार्यक्रमको शुरुवात गरेका छौँ ।
स्रोत साधनको उपलब्धताका आधारमा बढी भन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिने उहाँको भनाई छ । गाउँपालिका अध्यक्ष मन्यालको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा, उपाध्यक्ष उर्मिला बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण सिंह धामी, जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको अपिहिमाल गाउँपालिका अध्यक्षको सचिवालयका कम्प्युटर अपरेटर योगेन्द्र धामीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी घरभेट तथा स्वास्थ्य परामर्श कार्यक्रम अन्तरगत भोलीदेखि गाउँपालिकाका प्रतेक वडामा स्वास्थ्यकर्मी परिचालन गरिने अपिहिमाल गाउँपालिकाले जनाएको छ ।





